पाँचवटा डायलाइसिस मेसिनमध्ये चारवटा मात्रै सञ्चालनमा, एउटा मेसिन बिग्रिएको भन्दै एक वर्षदेखि थन्क्याइयाे
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मिर्गाैलाको डायलाइसिस गराउने बिरामीको चाप बढ्दो छ । यस अस्पतालमा पाँचवटा डायलाइसिस मेसिन छन् । तर, अहिले चारवटा मात्रै सञ्चालनमा छन् । एउटा मेसिन बिग्रिएको भन्दै एक वर्षदेखि थन्क्याइएको छ । त्यही मेसिन बनाउनका लागि लमहीस्थित डायलाइसिस सेन्टरबाट तीनपटक प्राविधिक आएको भए पनि मर्मत हुन सकेको छैन । अस्पतालमा बायोमेट्रिक टेक्निसियनको दरबन्दी नहुँदा डायलाइसिस मेसिन बिग्रिँदा बनाउन बाहिरबाट मानिस बोलाउनुपर्छ ।
चारवटा मेसिनको सहायताले अहिले महिनामा २३ जनालाई मात्रै सेवा दिन सकिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले जानकारी दिए । उनले अहिले अझै पनि ६०–७० जना बिरामी ‘पेन्डिङ’मा रहेको बताए ।
सल्यान शारदा नगरपालिका– ७ कजेरीनिवासी गीता खड्का यसअघि लमहीस्थित डायलाइसिस सेन्टरमा आएर उपचार गर्थिन् । पछि उनी राप्ती प्रादेशिक अस्पतालमा आउन खोजिन्, तर एक महिनापछि मात्रै उनको पालो आयो । त्यस्तै, सल्यानकै मस्तबहादुर खड्काले पनि पाँच महिनापछि मात्रै प्रादेशिक अस्पतालमा पालो पाए । त्यसभन्दा अघि उनी काठमाडौंमा डायलाइसिस गर्दै आएका थिए । आउँदा–जाँदा तथा काठमाडौं बस्दा महँगो खर्च हुने भएकाले तुलसीपुरमा सस्तो पर्ने भएकाले पनि उनी यहाँ आउन खोजेका थिए । मिर्गाैलाको उपचारकै क्रममा १२–१५ लाख खर्च भएकाले अब जति सक्यो कम खर्च गर्न घरदेखि नजिकै भए सहज हुने बिरामीको भनाइ छ ।
सकेसम्म स्थानीय स्तरबाटै सेवा दिनका लागि थप पाँचवटा मेसिन जडानका लागि माग गरेको निमित्त मेसु डा. सिंहले बताए । उनका अनुसार विभाग, मन्त्रालयलगायत सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराइएको छ । यहाँ दक्ष कर्मचारीको पनि त्यत्तिकै समस्या हुने गरेको डायलाइसिस विभाग प्रमुख लिना भँडेलले बताइन् । अहिले चारजना स्टाफ नर्स मात्रै भएकाले कर्मचारी थप हुनुपर्ने उनले जानकारी दिइन् ।
यस अस्पतालले दुई सय बेडको स्वीकृति पाएकाे छ । तर, दरबन्दीका लागि ओएनएम सर्भे नभएका कारण न्यून दरबन्दीमा काम गर्नुपर्ने अवस्था रहेको डा. सिंहले गुनासो गरे । यसको फाइल अहिले मुख्यमन्त्री कार्यालयमा अड्किएको उनको भनाइ छ । यहाँ रुकुम, सल्यान, रोल्पा, दाङलगायत आसपासका जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गर्छन् ।