नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरीको नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्ष सञ्चालनमा ल्याएको छ । पाठशालाको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफका अध्यक्ष गोविन्दलाल संघईले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि बिमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला उदाहरणीय कार्य भएको बताए । कम्पनीका अध्यक्ष संघईले अभिकर्ता तथा कर्मचारीको व्यावसायिक दक्षता तथा क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी प्रशिक्षण केन्द्रको स्थापना गरेको बताए । उनले आगामी दिनमा यस पाठशालामा विज्ञ प्रशिक्षकमार्फत अभिकर्ता र कर्मचारीका लागि नियमित तालिम एवं सेमिनारहरू सञ्चालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिए ।
प्रशिक्षण कक्षको सुरुवातपछि कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारलाई क्षेत्रीयस्तरमा समेत विस्तार गरिने सोच रहेको बताए । नेपाल लाइफ पाठशाला उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्ने उनले विश्वास व्यक्त गरे ।