नवआदर्श माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

ज्योति विकास बैंकले काठमाडौंको वसन्तपुरमा रहेको नवआदर्श माध्यमिक विद्यालयका विद्यार्थीका लागि विभिन्न सामग्री सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत विद्यार्थीलाई आवश्यक पोसाक, स्कुल ब्याग, जुत्ता तथा स्टेसनरी सामग्री हस्तान्तरण गरेको हो । 

विद्यालयमा आयोजित कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलीपराज बरालले स्कुलका विद्यार्थीलाई सहयोग सामग्री हस्तान्तरण गरेको जनाइएको छ । कार्यक्रममा बैंकका मार्केटिङ विभाग प्रमुख वसन्त दाहाल र न्युरोड शाखा प्रबन्धक जितबहादुर गुरुङ तथा विद्यालयका व्यवस्थापन समिति सदस्य विष्णुराज श्रेष्ठ, सहप्रधानाध्यापकहरू वैकुण्ठ पौडेल र कृष्णप्रसाद दवाडीलगायत विभिन्न शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो । 

विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब तीन सय विद्यार्थीलाई न्यूनतम शुल्कमा अध्यापन गराइरहेको जनाएको छ । बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीको आधारभूत आवश्यकता पूरा गरी गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सहयोग गरेको जनाइएको छ ।  विकास बैंकले हाल देशभरमा एक सय १४ शाखा, एक एक्सटेन्सन काउन्टर तथा ६२ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

सुझावित समाचार