अधिराज्यव्यापी स्कुल ब्वाइ तथा गर्ल्स बक्सिङ प्रतियोगिताअन्तर्गत शनिबार भएको सेमिफाइनल खेलमा पुरुषतर्फको ४३ किलो तौलसमूहमा अछामका प्रविन टमटा विजयी भएका छन् । उनले जेसिएसका सुवास बस्नेतलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सोही तौलसमूहमा अल्फाका सोनमले फाइट प्रमोसनका स्वरुप तिरुवालाई पराजित गरेका थिए ।
प्रतियोगिता नेपाल बक्सिङ संघको सहयोग एवं खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन)को आयोजनामा भएको हो । प्रतियोगिता ५ देखि ७ चैतसम्म सातदोबाटोमा चल्नेछ । पुरुष ३५ किलो तौलसमूहमा नक्सालका सक्षम लामाले अछामका सन्तोष भट्टलाई र मकवानपुरका अरुन सापकोटाले भक्तपुरका प्रत्युष सुजखुलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
४० किलो तौलसमूहमा थानकोटका प्रकट महर्जनले बक्समाण्डुका सुवास तिरुवालाई, पुरुष ४९ किलो तौलसमूहमा कास्कीका आकाश बोहराले दमकका रोशन विकलाई, पुरुष ५२ किलो तौलसमूहमा भूपू बक्सिङ पोखराका समुद्र थापामगरले मोरङका कीर्तिक मास्केलाई पराजित गरेका छन् । सोही तौलसमूहमा बाँकेका योगराज खत्रीले अछामका विनोद नागारजीलाई पराजित गरी सेमिफाइनलको यात्रा तय गरेका छन् । देशभरका २५ जिल्ला, क्लब तथा स्कुलका १२ वर्षदेखि १४ वर्षभित्रका पुरुष तथा महिला गरी ४८ खेलाडी प्रतियोगितामा सहभागी छन् ।
यसैबीच, अप्रिल २०२२ मा फुकेटमा हुने थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ प्रतियोगिताको खुला छनोट खेलअन्तर्गत शनिबार भएको खेलमा ४८ किलो तौलसमूहमा एचटुओका रविन थापाले झापाका धर्मेन्द्र राईलाई पराजित गरेका छन् । सोही तौलसमूहमा बक्समाण्डुका लक्ष्मण राईले ललितपुरका अर्जुन तामाङलाई पराजित गरेका थिए । छनोट खेलको ५४ किलो पुरुषतर्फ आर्मीका प्रेम चौधरीले एपिएफका प्रदीप महर्जनलाई पराजित गरेका थिए ।