घरेलु फुटबलको सर्वोच्च निकाय एन्फाले नेपाल सुपर लिगको अक्सनमा देखिएको विवादबारे छलफल गर्ने भएको छ । एन्फाको बिहीबार सम्पन्न १८औँ कार्यसमितिको बैठकले विवादबारे छलफल गर्न अध्यक्ष कर्माछिरिङ शेर्पाकै संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । एन्फाले शुक्रबार न्युरोड टिम (एनआरटी), मनाङ–मर्स्याङ्दी, थ्री स्टार र संकटा क्लबलाई छलफलका लागि बोलाएको हो ।
गत साता सहिद स्मारक ए डिभिजन लिगका चार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)समक्ष नेपाल सुपर लिग विवाद सम्बोधन गर्न माग राखेका थिए । सम्झौतामा रहेका खेलाडीलाई क्लबको अनुमतिविना नै एकैपटक नेपाल सुपर लिगको अक्सनमा किनबेच हुँदा क्लबहरूले आपत्ति जनाएका थिए । सुरुमा नेपाल सुपर लिगको अक्सनप्रति आठ ए डिभिजन क्लबहरूले आपत्ति जनाएका थिए । तर, पछि चार क्लबहरूले मात्र यसको विरोध जनाउँदै पत्रकार सम्मेलन गरेका थिए । आठ ए डिभिजन क्लबले नेपाल सुपर लिगको अक्सन रोक्न एन्फालाई पत्र पठाएको थियो । तर, एन्फाले यसबारे केही जवाफ फर्काएन ।
एन्फको बैठक लगातार दुई दिनसम्म चल्यो । बैठकले एन्फाको निर्वाचन १५ जेठ २०७९ गर्ने निर्णय गरेको छ । एन्फाले यसअघि केन्द्र, जिल्ला र प्रदेशको निर्वाचनको मिति तय गरेको थियो । फिफा र एएफसीबाट निर्वाचन कार्यविधिमा केही परिवर्तन गर्न सुझाब दिएपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला संघको निर्वाचित एन्फाले स्थगित गरेको जनाएको थियो । एन्फाले ४८ जिल्ला सदस्यको निर्वाचिन २०७९ वैशाख १ देखि १० गतेसम्मका लागि तय गरेको छ । निर्वाचन कार्यविधि अनुमोदनका लागि एन्फाले १५ चैतमा विशेष साधारणसभा गर्ने तय गरेको छ । विशेष साधारणसभा दुईपटक स्थगित भइसकेको थियो ।