दोस्रो क्वालिफायरमा सुदूरपश्चिमको प्रतिद्वन्द्वी चितवन

बिहिबार, ३ मंसिर, २०८३
प्रिन्ट संस्करण
  • इलिमिनेटरमा काठमाडौं गोर्खाजमाथि ६१ रनको जित निकाल्दै चितवन राइनोजले पहिलोपटक दोस्रो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्दै 

काठमाडाैं- दुईपटकको फाइनलिस्ट सुदूरपश्चिम रोयल्सले बिहीबार त्रिवि क्रिकेट मैदानमा दोस्रो क्वालिफायरमा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दै छ । तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बुधबार इलिमिनेटर खेलमा चितवनले काठमाडौं गोर्खाजमाथि ६१ रनको जित निकाली क्वालिफायरमा स्थान पक्का गरेको हो । यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम साबिक विजेता लुम्बिनी लायन्सबाट पराजित भएको थियो ।

चितवन पहिलोपटक क्वालिफायरमा पुगेको हो । यसअघि पहिलो संस्करणमा चितवनले इलिमिनेटर खेले पनि कर्णाली याक्ससँग २१ रनले पराजित भएको थियो । गत सिजनमा चितवन सातौँ स्थानमा रह्यो । चितवन र सुदूरपश्चिमबिचको विजेताले आगामी शनिबार उपाधिका लागि लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ ।

चितवनका कप्तान रवि बोपाराले टस जितेर ब्याटिङ रोजेका थिए । सिकन्दर राजा युएईको लिग खेल्न गएपछि बोपराले पुनः चितवनको कप्तानी सम्हालेका हुन् । चितवनले २० ओभरमा चार विकेट गुमाउँदै २०४ रनको विशाल योगफल खडा गर्यो । तेस्रो एनपिएलमा दुई सय रन कटाउने चितवन दोस्रो फ्रेन्चाइज टोली हो । यसअघि प्लेअफ दौडमा नपुगेको पोखराले २२५ र २१८ रन बनाएको थियो ।

काठमाडौंले २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन जोड्दा चितवन क्वालिफायरमा पुग्यो । हारसँगै काठमाडौंको एनपिएल यात्रा समाप्त भयो ।

कमिलको शतकीय इनिङ्स
चितवनको ब्याटिङमा श्रीलंकाली खेलाडी कमिल मिसराले शतकीय योगदान दिए । ओपनिङमा आएका कमिलले केवल ५९ बलमा सर्वाधिक १० छक्का र पाँच चौका प्रहार गरी १२० रनको नटआउट योगदान दिए । चालू एनपिएलमा यो दोस्रो शतक हो । यसअघि पोखराका युवराज सम्राले पहिलो शतकीय इनिङ्स खेलेका थिए । नेपाली खेलाडीले अहिलेसम्म शतकीय इनिङ्स खेलेका छैनन् ।

कमिल एनपिएलमा व्यक्तिगततर्फ सर्वाधिक रन बनाउने पहिलो खेलाडीसमेत बने । उनले कर्णाली याक्सका मार्क वाटको कीर्तिमान तोडेका हुन् । उनी समग्रमा एनपिएलमा शतक बनाउने पाँचौँ खेलाडी हुन् । चितवनका लगि शतक बनाउने कमिल पहिलो खेलाडी बनेका छन् । यसअघि कर्णालीका वाट (अविजित ११४), पोखराका एडम रोसिङटन (अविजित १०८), आन्द्रेस गौस (अविजित १०४) र युवराज सम्रा (१०२) रन बनाएका थिए । चितवनले ब्याटिङका क्रममा ३.१ ओभरमा ओपनर देव खनाललाई गुमाएको थियो । काठमाडौंका कप्तान करण केसीले एकै ओभरमा दुई विकेट लिँदै चितवनमाथि दबाब राखेका थिए । उनले दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मालानलाई सामना गरेको बलमै आउट गरे । चितवनले दुई खेलाडी गुमाउँदा स्कोर बोर्डमा २२/२ को प्रदर्शन गरेको थियो । काठमाडौंले एक किसिमले खेलमा पकड बनाएको थियो । तर, कमिल र कप्तान बोपाराले तेस्रो विकेटका लागि १५४ रनको शतकीय साझेदारी गर्दै उल्टै काठमाडौंमाथि दबाब सिर्जना गरे । कमिल र बोपाराले चितवनलाई २२/२ बाट १७६/३ को बलियो स्थितिमा राखे ।

बोपाराले आफ्नो विकेट १८.३ ओभरमा गुमाए । उनले ४२ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ५३ रन बनाए । त्यसपछि विकेक यादवले तीन बलमा ८ रन बनाए । बलिङका क्रममा काठमाडौंका लागि करणले चार ओभरमा ३२ रन खर्चेर दुई विकेट लिए । रसिद खानले चार ओभरमा ३८ रन दिएर दुई विकेट लिए । करणले कमिल र बोपाराबिचको साझेदारी तोड्न आठ बलर प्रयोग गरेका थिए । लिग चरणमा काठमाडौंले सात खेलमा ८ अंक जोड्दै तेस्रो स्थान रक्षा गरेको थियो ।

काठमाडौंविरुद्ध रिजनको कसिलो बलिङ
दोस्रो क्वालिफायरमा पुग्न काठमाडौंले २०५ रन पार गर्नुपर्ने थियो । यस्तोमा काठमाडौंलाई प्रतिओभर १० रनरेट आवश्यक थियो । काठमाडौंको ब्याटिङ बलियो मानिन्छ । तर, निर्णायक खेलमा काठमाडौंका ब्याट्सम्यान चुके । पहिलो तीन ओभरमा काठमाडौंले १० रन पनि कटाएन । काठमाडौंको ब्याटिङ कमजोर हुनुका पछाडि रिजन ढकालको कसिलो बलिङ थियो । उनले चार ओभरको स्पेलमा १६ रन खर्चेर चार विकेट हात पारे ।

इनिङ्सको १.२ ओभरमा उनले साहिल पटेललाई २ रन तथा हम हेज्लेटलाई ४.५ ओभरमा ३ रनमा पेभेलियन पठाए । ओपनर आउट भएपछि काठमाडौं खेलमा फर्कन सकेन । विलियम बोसिस्टो, रसिद खान र सान अर्चाचिगेले केही समय चितवनलाई दबाबमा राखेका थिए । रिजनले आफ्नो प्रत्येक बलिङ ओभरमा विकेट लिँदै चितवनलाई जिततर्फ अग्रसर गराए । उनले १५.३ ओभरमा सोनु देवकोटा (६) र १७.२ ओभरमा सन्तोष यादव (१०) लाई आउट पारे । सन्तोष आउट हुँदा काठमाडौं ११५/९ को स्थितिमा रह्यो ।

काठमाडौंको ब्याटिङमा बोसिस्टोले २८ बलमा तीन चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ३७ रन बनाए । उनी उसमा मिरबाट आउट भए । रसिदले १२ तथा सहानले १३ बलमा दुई चौका र एक छक्का प्रहार गरी २४ रन जोडे । इनिङ्सको अन्तिममा भीम सार्की आक्रामक देखिए । उनले १७ बलमा तीन छक्का प्रहार गरी ३० रन जोडे । भीम क्रिजमा आउँदा काठमाडौंले १७.२ ओभरमा ११५ रन बनाएको थियो ।

काठमाडौंविरुद्ध पाकिस्तानका ३० वर्षीय बलर मिरले ४ ओभरमा १५ रन खर्चिएर तीन विकेट हात पारे । सलाहुद्दिन खान र कुशल मल्लले समान एक विकेट लिए । 

सुझावित समाचार