- पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले दिएको १०६ रनको लक्ष्य २० बलअगावै पूरा गर्दै लुम्बिनी उपाधिनजिक, सुदूरपश्चिमले काठमाडौं गोर्खाज र चितवन राइनोजबिचको इलिमिनेटर खेलको विजेताविरुद्ध फाइनल प्रवेशका लागि खेल्ने
काठमाडाैं- साबिक विजेता लुम्बिनी लायन्स लगातार दोस्रोपटक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा दुईपटकको फाइनलिस्ट सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले हराउँदै लुम्बिनी उपाधिनजिक पुगेको हो । सुदूरपश्चिम कमजोर ब्याटिङका कारण लगातार चार खेलमा लुम्बिनीसँग पराजित भयो ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा आठ विकेट गुमाएर १०५ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमको ब्याटिङमा कठिन देखिएको पिचमै लुम्बिनीले १६.४ ओभरमा चार विकेटको क्षतिमा १०८ रन जोड्दै सानदार जित निकाल्यो । लुम्बिनीले उपाधि रक्षा गर्न इलिमिनेटरमा विजयी टोली र क्वालिफायरमा पराजित सुदूरपश्चिमबिच हुने प्रतिस्पर्धाको विजेताविरुद्ध आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ ।
लुम्बिनीको जितमा श्रीलंकाली खेलाडी निरोसन डिकवेलाले ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे । उनले टोलीको जितमा अर्धशतकीय योगदान दिएका थिए । उनले लक्ष्य पछ्याउँदा ३७ बलमा ५९ रन र विकेटकिपिङका क्रममा दुई क्याच लिए । ब्याटिङ गर्दा डिकवेलाले सात चौका र दुई छक्का प्रहार गरेका थिए । उनी खेलका म्यान अफ दी म्याच भए । चालू एनपिएलमा डिकवेला लुम्बिनीका लागि एकै खेलमा धेरै व्यक्तिगत रन बनाउने ब्याट्सम्यानसमेत बनेका छन् । उनले कप्तान रोहित पौडेलको रेकर्ड तोडेका हुन् । कप्तान रोहितले ४७ रन जोडेका थिए । उनले समग्रमा १५० रन जोडे । डार्सी सटको नाममा १४८ रन रह्यो ।
डिकवेलाको क्याच मिस महँगो
लुम्बिनीको जितमा अर्धशतकीय इनिङ्स खेलेका डिकवेलाले एक जीवनदान पाएका थिए । डार्सी आउट भएपछि उनी दोस्रो क्रममा ब्याटिङ गर्न क्रिजमा पुगेका थिए । इनिङ्सको २.२ ओभरमा अभिनाश बोहराले डिकवेलाको सहज क्याच मिस गरेका थिए । त्यसवेला डिकवेला शून्य रनमा थिए । डिकवेलाको क्याच मिस हुनु नै सुदूरपश्चिमलाई महँगो भयो । जीवनदान पाएका श्रीलंकाली खेलाडीले त्यसपछि खुलेर ब्याटिङ गरे । विपक्षी बलरले उनलाई आकर्षक स्ट्रोक लगाउन रोक्न सकेनन् ।
लुम्बिनीले सहज लक्ष्य पछ्याउँदा कमजोर सुरुवात गरेको थियो । इनिङ्सको तेस्रो बलमै सुदूरपश्चिमका स्कट कुगेलेजिनले ओपनर डार्सी सटलाई बोल्ड गरेका थिए । त्यसपछि ३.२ ओभरमा आसिफ शेखलाई हेमन्त धामीले दीपेन्द्रसिंहबाट क्याच आउट गराए । खेलमा फर्किसकेको सुदूरपश्चिमविरुद्ध डिकवेला र कप्तान रोहितले तेस्रो विकेटका लागि महŒवपूर्ण ३८ रनको साझेदारी गर्दै टोलीलाई ९.३ ओभरमा ६२–३ को स्थितिमा राखे । रोहितले २८ बलमा एक चौकाको सहयोगमा २१ रन जोडे ।
डिकवेलाले दिलीप नाथसँग पाँचौँ विकेटका लागि १९ बलमा २३ रन जोड्दै लुम्बिनीको फाइनल यात्रा पक्का पारे । दिलीपले १२ बलमा एक छक्काको सहयोगमा १० रन बनाए । सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले सर्वाधिक दुई विकेट हात पारे । स्कट र हेमन्तले समान एक विकेट लिए ।
दीपेन्द्रसिंहको एकल प्रयास
सुदूरपश्चिमको ब्याटिङमा कप्तान दीपेन्द्रसिंह लगभग एक्लैले इनिङ्स सम्हालेका थिए । इनिङ्सको ३.१ ओभरमा सुदूरपश्चिम ८/३ को कमजोर अवस्थामा थियो । रुबेल ट्रम्पलम्यानले दुई तथा अभिषेक गौतमले एक विकेट लिँदा सुदूरपश्चिमले क्वालिफायर खेलमा गतिलो सुरुवात गर्न नसकेको हो ।
सुदूरपश्चिमले ओपनिङ बलियो बनाउन सोमबार मात्रै स्कटल्यान्डका जर्ज मुन्सेलाई भित्र्याएको थियो । तर, उनी सामना गरेको बलमै बोल्ड भए । विनोद भण्डारी र थनुका दाबारेले समान ३ रन जोडे ।
दयनीय अवस्थामा रहेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह र ईशान पाण्डेले सम्हाल्ने कोसिस गरेका थिए । दुवैले चौथो विकेटका लागि ६४ रनको साझेदारी गरे । उनीहरूले टोलीलाई ८/३ बाट ७२/४ को स्थितिसम्म पुर्याए । दीपेन्द्रसिंह र ईशानबिच २.५ देखि १४.१ ओभरसम्म साझेदारी भएको थियो । डेथ ओभरमा स्ट्रोक लगाउने र रनरेट उकास्ने क्रममा ईशानले आफ्नो विकेट रनआउटका रूपमा गुमाए । उनले ३३ बलमा तीन चौकाको सहयोगमा २७ रन बनाए । त्यसपछि सुदूरपश्चिमका लागि गतिलो साझेदारी भए । इनिङ्सको एकछेउमा दीपेन्द्रसिंह डटेर बसेका थिए । उनले धेरैजसो स्ट्रोक आफूमा सीमित राखे । तर, इनिङ्सको १९.२ ओभरमा ठुलो बाउन्ड्री लगाउने क्रममा उनी क्याच आउट भए । किशोर महतोले उनलाई आउट गरेका हुन् । दीपेन्द्रसिंहले ५१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । चालू एनपिएलमा उनको यो तेस्रो अर्धशतकीय इनिङ हो । लुम्बिनीको बलिङमा ट्रम्पेलम्यानले १४ रन खर्चेर दुई विकेट लिए । शेर मल्लले २७ रनमा दुई खेलाडीलाई आउट गरे । किशोर र अभिषेकले समान एक विकेट हात पारे ।
सुदूरपश्चिममा तीन खेलाडी परिवर्तन
पहिलो क्वालिफायरमा सुदूरपश्चिमले लुम्बिनीविरुद्ध तीन खेलाडी परिवर्तन गरेको थियो । लुम्बिनीले भने आफ्नो सेट टोलीलाई निरन्तरता दिएको थियो । सुदूरपश्चिमले फाबियन एलन र ब्रान्डन म्याकमुलनको स्थानमा थानुका मधुसुधन र मुन्सेलाई अवसर दिएको थियो । दीपक बोहराको स्थानमा अभिनाश बोहराले प्रतिस्पर्धा गरेका थिए