- १९ वर्षे करिअरमा धोनीले आफ्नो कप्तानीमा चेन्नईलाई पाँचपटक उपाधि र १० पटक फाइनलमा पुर्याए
भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल)बाट पनि सन्न्यास लिएका छन् । चेन्नई सुपर किंग्सका पूर्वकप्तानसमेत रहेका धोनीले खेलाडीका रूपमा आइपिएल यात्रा समाप्त भएको घोषणा गरेका छन् । चेन्नईले मंगलबारै उनलाई नयाँ भूमिका दिँदै मेन्टरमा नियुक्त गरेको छ । चेन्नईले सन् २०२७ को आइपिएलदेखि लागू हुने गरी टिम मेन्टरको जिम्मेवारी दिएको टाइम्स अफ इन्डियाले जनाएको छ । यसैबिच, चेन्नईले आफ्ना पूर्वकप्तान धोनीको नयाँ यात्राको स्वागत गरेको छ ।
अब धोनीले चेन्नईमा आबद्ध हुने नयाँ पुस्ताका खेलाडीलाई आफ्नो अनुभव बाँड्नेछन् । ४५ वर्षीय धोनी पछिल्लो समय फिट थिएनन् । गत सिजन उनले पिँडुलाको चोटका एक खेल पनि खेलेनन् । आइपिएल इतिहासमा धोनी सर्वाधिक सफल कप्तान मानिन्छन् । सन् २००८ को पहिलो संस्करणदेखि उनी टोलीमा आबद्ध छन् ।
भारतीय खेलाडीका रूपमा धोनी सबैभन्दा राम्रा खेलाडी गनिन्थे । उनले आफ्नो कप्तानीमा चेन्नईलाई पाँचपटक आइपिएल उपाधि दिलाए । उनको नेतृत्वमा चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि हात पारेको थियो । १५ अगस्ट २०२० मा धोनीले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । त्यसपछि उनी घरेलु क्रिकेटमा सक्रिय भए । आइपिएलमा उनलाई शान्त स्वभाव र परिस्थितिअनुसार तत्कालै निर्णय गर्ने क्षमता भएका खेलाडी र कप्तानका रूपमा हेरिन्थ्यो । समर्थकले उनलाई ‘थाला’ उपनाम दिएका छन् ।
चेन्नईका मालिकबाट प्रशंसा
यसैबिच चेन्नईका मालिक एन श्रीनिवासनले धोनीको सन्न्याससँगै आइपिएलमा एक युगको समाप्त भएको जनाएका छन् । उनले धोनी र चेन्नईको सम्बन्ध कहिल्यै नटुट्ने बताए । ‘दुई दशकदेखि महेन्द्रसिंह धोनीको कप्तानीमा सफलता, असफलता र अनेक उतारचढावमा हेर्यौँ,’ श्रीनिवासनले भनेका छन्, ‘अब धोनीलाई मिस गर्नेछौँ । आइपिएलमा एउटा युग समाप्त भएको महसुस गरेको छु ।’
श्रीनिवासनले धोनीलाई पहिलो संस्करणमा आबद्ध हुन धेरै प्रयास गरेका थिए । अन्तिम समयमा धोनीले चेन्नई रोजेको श्रीनिवासनको भनाइ छ । ‘सन् २००८ मा धोनीलाई चेन्नईको टोलीमा आबद्ध हुन जोड गरेको थिएँ, मेरो निर्णय गलत भएन,’ श्रीनिवासनले भने, ‘धोनी कस्ता हुन् भन्ने सबैलाई थाहा छ ।’
धोनीले एकपटक राइजिङ पुणेबाट पनि प्रतिस्पर्धा गरेका छन् । सन् २०१६ र ०१७ को संस्करणमा चेन्नई प्रतिबन्धमा परेको थियो । फिक्सिङ काण्डमा चेन्नई मुछिएपछि भारतीय क्रिकेट बोर्डले प्रतिबन्ध लगाएको थियो । बिसिसिआईले चेन्नईलाई मात्र प्रतिबन्ध गरेको थियो । खेलाडीलाई अन्य टोलीमा आबद्ध हुन छुट थियो ।
धोनीले आइपिएल करिअरमा २७८ खेल खेलेका छन् । उनले पाँच हजार ३१४ रन बनाएका छन् । उनकै कप्तानीमा चेन्नईले दुईपटक च्याम्पियन्स लिग टी–२० पनि जितेको थियो । धोनीले २० मे २०२५ मा अन्तिमपटक राजस्थान रोयल्सविरुद्ध प्रतिस्पर्धा गरे । यस खेलमा उनले १६ रन बनाएका थिए । धोनीको नेतृत्वमा चेन्नई लगातार दुईपटक आइपिएल उपाधि जित्ने पहिलो टोली बनेको थियो । यसैगरी एकै सिजन आइपिएल र च्याम्पियन्स लिग जित्ने रेकर्ड चेन्नईकै नाममा छ ।