राजर्षि जनक कप : पुलिससँग नवजनजागृति ५–० ले पराजित

शुक्रबार, ४ चैत, २०७८
डिजिटल संस्करण

छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा नेपाल पुलिसले बुधबार नवजनजागृति युवा क्लब सिमरालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । हारसँगै नवजनजागृति प्रतियोगिताबाट बाहिरिएको छ ।  जितसँगै पुलिसले ६ चैतमा हुने क्वार्टरफाईनलमा सुदूरपश्चिम–११, धनगढीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा पुलिसका खेलाडीसामु नवजनजागृति निरीह देखिएको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी जुमानु राईको कप्तानीमा पुलिस मैदानमा उत्रिएको थियो । खेलको २०औँ मिनेटमा सिमराका खेलाडीले डिबक्सनजिकै पुलिसका सौजन राईलाई फल गरेका थिए । राईले नै सीधा फ्रिकिकमा गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए । 

खेलको २८औँ मिनेटमा पुुलिसका कप्तान जुमानुको पासमा रविशंकर पासवानले २–० को अग्रता दिलाए । मध्यान्तरपछि पुलिसले थप तीन गोल ग¥यो । दोस्रो हाफको पहिलो मिनेटमै पुलिसका निरकुमार राईले खेललाई ३–० को अवस्थामा पुर्याए । खेलको ५८औँ मिनेटमा निरकुमारको पासमा रविशंकरले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ४–० ले अघि बढ्यो ।

खेलको ६३ औँ मिनेटमा निरकुमारको कर्नर प्रहारलाई बुद्धबल तामाङले हेडिङ गोल गर्दै पुलिसलाई ५–० को जित पक्का गराए । सिमराका गोलरक्षक सुवास बलले पुलिसका केही उत्कृष्ट गोल प्रयास विफल पारेका थिए । प्रतिस्पर्धामा सिमराले गोल अवसर सिर्जना गरेको थियो । 

सुझावित समाचार