एमसिसी सम्झौताको बारेका भ्रम र यथार्थलाई प्रस्टाउन नेपाली कांग्रेसले ‘एमसिसी अनुदान सहायता सम्झौता : भ्रम र यथार्थ’ पुस्तिका वितरण थालेको छ। कांग्रेसले चुनावी अभियानसँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) सम्झौताबारे नागरिक तहमा रहेका भ्रमलाई बुँदागत रूपमा समेटेर पुस्तिका वितरण सुरु गरेको हो।
संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसिसीबारे जनमानसमा रहेको भ्रम र जिज्ञासाका विषयलाई बुँदागत रूपमा समेटेर कांग्रेसले पुस्तिका तयार गरेको छ। कांग्रेसले चुनावी अभियान सँगसँगै घरघरमा पुगेर एमसिसीबारे भ्रम निवारण गर्ने जनाएको छ।
एमसिसी पारित गर्न कांग्रेसले लिएको अडानका कारण निर्वाचनमा असर पर्न सक्ने सम्भावनासमेतलाई मध्यनजर गर्दै कांग्रेसले यस्तो नीति लिएको हो। कांग्रेस सचिव केशव रिजालका अनुसार पुस्तिकाबाहेक यसलाई भिडिओ र अडियोमार्फतसमेत प्रचार गर्न लागिएको छ।