सानै उमेरमा नाम कमाएका प्रिन्स

मंगलबार, १ चैत, २०७८
डिजिटल संस्करण

प्रिन्स दाहाल सानै उमेरमै लोकप्रिय बनेका नेपाली खेलाडी हुन् । घरेलु ब्याडमिन्टन कोर्ट मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उनले तहल्का नै मच्चाइरहेका छन् । प्रिन्स जुनियर विश्व वरीयताको नम्बर एक खेलाडीसमेत हुन् । नेपालका कुनै पनि खेलाडीले यो सफलता कहिल्यै पाएका थिएनन् । १७ वर्षीय प्रिन्स सम्पूर्ण उदयमान खेलाडीको प्रेरणाका स्रोत हुन् ।

प्रिन्ले सन् २०१८ मा दुबई इन्टरनेसनल सिरिजमा यू–१५ मा स्वर्ण जित्दै अन्तर्राष्ट्रिय ब्याडमिन्टन क्षेत्रमा आफ्नो परिचय दिएका थिए । दुबईमा उपाधि जित्दा प्रिन्सले ब्याडमिन्टन खेल्न थालेको आधा दशक मात्रै भएको थियो । नौ वर्षको उमेरमै प्रिन्सले राष्ट्रिय वरीयता प्रतियोगितामा सहभागिता जनाएका थिए । 

यू–१९ विधामा नयाँ इतिहास
सन् २०१९ मा दुबईमा यू–१९ विधाको स्वर्ण जितेर उनले नयाँ इतिहास रचे । सोही वर्ष उनी नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका थिए । जुनियर नम्बर १ खेलाडी प्रिन्स फेरि चर्चित खेलाडीको विधामा दोहोरिएका छन् । सो विधामा उनले फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबल टेनिसकी एन्जिला महर्जन, क्रिकेटका कुशल भुर्तेल र एथलेटिक्सकी सन्तोषी श्रेष्ठसँग प्रतिस्पर्धा गरिरहेका छन् । 

विश्व जुनियर ब्याडमिन्टनको आधिकारिक प्रतियोगितामा स्वर्ण जितेको तीन वर्षपछि उनी शीर्ष स्थानमा पुगेका छन् । प्रिन्सले १० हजार चार सय अंक बटुल्दै जुनियर विश्व वरीयताको शीर्ष स्थान कब्जा जमाएका छन् । सन् २०१९ को अप्रिलदेखि सन् २०२० को मार्चसम्म उनले ११ वटा आधिकारिक सिरिज खेलेका छन् । विश्व ब्याडमिन्टन वा ब्याडमिन्टनको महादेशीय फेडेरेसनको मान्यताप्राप्त प्रतियोगिताको प्रदर्शनका आधारमा वरीयता अंक निर्धारण हुन्छ । 

सिनियरतर्फ बढ्दै
प्रिन्सले यो उपलब्धिलाई सपना पूरा भएको क्षण भनेका छन् । यसले नेपाली ब्याडमिन्टन खेलाडीलाई हेर्ने विश्वव्यापी नजर परिवर्तन हुने प्रिन्सको आशा छ । सुदूरपश्चिमको दार्चुलामा जन्मिएर विश्वस्तरमा नम्बर १ बन्नु चानचुने सफलता होइन । पारिवारिक सहयोग र निरन्तरताको मिहिनेतले नै उनलाई यो अवस्थामा पु¥याएको हो । प्रिन्सले अब सिनियरतर्फ पाइला बढाउँदै छन् ।

उनले राष्ट्रियस्तरको वरीयता प्रतियोगिता जित्न थालिसकेका छन् । यद्यपि, कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष सीमित प्रतियोगिता मात्रै भए ।उनले २०७७ सालमा भएका दुई प्रतियोगितामा शीर्ष वरीयताका खेलाडीलाई हराए । सिन्धुपाल्चोकमा भएको तोप–२१ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जितेका प्रिन्सले सोही वर्ष सिरहाको गोलबजारमा भएको पुष्पलाल स्मृति र्याङकिङ प्रतियोगिता जितेका थिए ।   

उमेरसँगै प्रिन्सले आफ्नो परिपक्वता बढाउँदै लगेका छन् । पिनाकल कलेजमा ११ कक्षामा अध्ययनरत प्रिन्सले फोरह्यान्ड, नेट र डिफेन्समा सुधार गर्नुपर्ने बुझेका छन् ।
प्रिन्सले हालै ओलम्पिक विशेष छात्रवृत्ति पनि पाएका छन् । सन् २०२४ मा फ्रान्समा हुने गृष्मकालीन ओलम्पिक लक्ष्यसहित प्रिन्सले विश्वस्तरीय र एसियाली स्तरीय प्रतियोगितामा नियमित सहभागिता जनाउनुपर्नेछ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा दोस्रोपल्ट पिपल्स च्वाइस अवार्डको मनोनयनमा पर्नुलाई प्रिन्सले गर्वको अवसर मानेका छन् ।

See More On

सुझावित समाचार