८ चैतदेखि ग्रिन भेन्चर्सको आइपिओ आउँदै

सोमबार, ३० फागुन, २०७८
डिजिटल संस्करण

ग्रिन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित ३१ करोड २५ लाख रुपैयाँबराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो।

कम्पनीले निष्कासन गर्ने साधारण सेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार दुई सय ५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार सात सय ५० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आगामी चैत ८ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ। 

सर्वसाधारणले चैत ११ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी चैत २२ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका  बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ। 

कम्पनीले हाल ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कुल ५२.४ मेगावाट  क्षमताको लिखु– ४ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत १२ अर्ब आठ करोड रुपैयाँ हुने जनाएको छ।

कम्पनीको अधिकृत पुँजी पाँच अर्ब रुपैयाँ र हालको जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा संस्थापकबाट चुक्ता भएको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ छ। कम्पनीले यसअघि आयोजना प्रभावित बासिन्दाका लागि खुलाएको ३१ करोड २५ लाख कित्ता र यो आह्वान पत्रअनुसार सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण सेयर (३१ लाख २५ हजार कित्ता) बाँडफाँडपश्चात् चुक्ता पुँजी तीन अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ। यसअघि स्थानीयलाई गत फागुन २ देखि २० सम्म ३१ लाख २५ हजार कित्ता सेयर बिक्री खुला गरी सोको बाँडफाँडसमेत गरिसकेको कम्पनीले जनाएको छ। 

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी बिबी’ ग्रेडिङ प्रदान गरेको छ। रासस

सुझावित समाचार