साझेदार दललाई आश्वस्त : एमसिसी अनुमोदन भएपछि १९ फागुनमा बसेको सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले साझेदार दलहरूलाई तीनै तहको निर्वाचनमा मिलेर जानेमा आश्वस्त पारेका छन् ।
सार्वजनिक अभिव्यक्ति : देउवाले सार्वजनिक रूपमै गठबन्धन चुनावसम्मै कायम रहने अभिव्यक्ति दिएका छन् । संविधान र लोकतन्त्रको रक्षा गर्न बनेको गठबन्धनको अझै आवश्यकता रहेको प्रधानमन्त्री देउवाले बताउँदै आएका छन् ।
सर्वसम्मत निर्णय : साझेदार दललाई आश्वस्त र सार्वजनिक अभिव्यक्तिमार्फत गठबन्धनको औचित्य पुष्टि गर्दै प्रधानमन्त्री देउवा पार्टीभित्र सबै मतको मन्थन सकाएर सर्वसम्मत निर्णयको योजनामा छन् ।
... ...
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न तीनै तहको निर्वाचनमा गठबन्धन बनाउने मार्गचित्र तयार पारेका छन् । चुनावी परिणाम अनुकूल दिने गरी उनले सफल गठबन्धनका लागि रणनीतिक रूपमै कदम चालेका छन् ।
निकट नेताहरूले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने प्रधानमन्त्री देउवाको योजना रहेको बताएका छन् । यसका लागि प्रधानमन्त्री देउवाले साझेदार दललाई आश्वस्त पार्ने, सार्वजनिक अभिव्यक्ति दिएर त्यसको माहोल बनाउने र निर्णायक चरणमा पार्टीभित्र सर्वसम्मत निर्णय गराउने योजना बुनेका छन् ।
स्थानीय तहमै गठबन्धन बनाएर जान सकिने कांग्रेसमा बलियो मत छ । प्रधानमन्त्री देउवालाई पार्टीनिकट नेताहरूले ‘एमालेले जितेका ठाउँमा कांग्रेसले गठबन्धनको सहयोगले जित्छ, कांग्रेसले जितेका ठाउँ फेरि कांग्रेसले नै जित्छ । समग्रमा गठबन्धन कांग्रेसकै पक्षमा हुन्छ, त्यसैले यसमा अगाडि जान’ सुझाएका छन् । यद्यपि, कांग्रेसमा डा. शेखर कोइरालादेखि गगन थापासम्मका नेताहरूले एमसिसी मुद्दामा गठबन्धन तोड्न देउवालाई सुझाएका थिए ।
चारदलीय गठबन्धनकै रणनीतिअनुसार एमसिसी अनुमोदन भएपछि प्रधानमन्त्री देउवाले सत्ता साझेदार अन्य दलका शीर्ष नेताहरूलाई निर्वाचनकेन्द्रित गठबन्धनका लागि आफू तयार रहेको सन्देश प्रवाह गरिसकेका छन् । १९ फागुनमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले आसन्न तीनै तहको निर्वाचन मिलेर लड्ने धारणा राखेका थिए ।
एमसिसी अनुमोदनपछि बसेको गठबन्धनको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले मिलेर चुनाव लड्ने र चुनावपछि पनि मिलेरै सरकार बनाउने प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीका एक शीर्ष नेताका अनुसार त्यस दिन प्रधानमन्त्री देउवाले भनेका थिए, ‘गठबन्धनलाई निरन्तरता दिऊँ, चुनावपछि पनि मिलेरै सरकार बनाउनुपर्छ ।’
देउवाको प्रस्तावमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू उत्साही थिए । त्यसैअनुसार यी दुई पार्टीले निर्वाचनमा गठबन्धन गरेर जाने संस्थागत निर्णयसमेत गरिसकेका छन् । कांग्रेसले भने गठबन्धनबारे संस्थागत निर्णय लिइसकेको छैन । एकमहिने अभियान सकिएपछि संस्थागत निर्णय लिने कांग्रेसको तयारी छ ।
अर्कोतिर, प्रधानमन्त्री देउवाले सार्वजनिक रूपमै समेत गठबन्धन बनाउने अभिव्यक्ति दिइरहेका छन् । बिहीबार मात्रै वीरगन्जमा आयोजित कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘हामीले अहिले गठबन्धनको सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि गठबन्धनको सरकार बनाएर रहिरहन सक्छौँ । अहिलेको संविधानअनुसार कुनै पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन । कसै न कसै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ ।’
पार्टीका औपचारिक–अनौपचारिक बैठक एवं छलफलमा प्रधानमन्त्री देउवाले गठबन्धनमा आबद्ध दलहरूप्रति नकारात्मक टिप्पणी नगर्न नेताहरूलाई सचेत गराएका छन् । मंगलबार चुनावी अभियानमा खटिने केन्द्रीय सदस्यहरूको भेलामा देउवाले चुनावी अभियानका क्रममा सत्तागठबन्धनलाई अप्ठ्यारो पार्ने गतिविधि नगर्न निर्देशन दिएका थिए । ‘गठबन्धनलाई अप्ठ्यारो पार्ने गतिविधि नगर्नुहोला । कांग्रेसको पक्षमा माहोल बनाउनुहोला,’ बैठकमा देउवाको भनाइ थियो ।
गठबन्धनका विषयलाई लिएर कांग्रेसमा दुई धार देखिएपछि चुनावमा पर्न सक्ने प्रभावलाई लिएर देउवाले यस्तो निर्देशन दिएका थिए । योसँगै कांग्रेसका दोस्रो तहका नेताहरूको अभिव्यक्तिमा लगाम लागेको छ । ‘गठबन्धनविरुद्ध कांग्रेस नेताहरू बोलिरहेका थिए । मूल नेतृत्व गठबन्धनको पक्षमा नै थियो र अहिले पनि छ । गठबन्धनविरोधी अभिव्यक्तिलाई मूल नेतृत्वले रुचाइरहेको थिएन,’ देउवानिकट एक पदाधिकारीले भने, ‘अहिले गठबन्धनबारे बोल्ने वेला नै भएको छैन । नबोलौँ, साइलेन्स बसौँ भन्ने भएपछि अहिले प्रतिनिधिलाई त्यही कार्यादेश दिइएको छ । संस्थागत निर्णय नभई नबोल्ने भनेपछि यो रोकिएको छ ।’
बुधबार पत्रकार सम्मेलनमा पनि कांग्रेस नेताहरूले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठकले उचित समयमा गठबन्धनबारे निर्णय लिने बताएका थिए । अहिले गठबन्धनबारे बोल्दा पार्टीमा विवाद देखिने भएपछि देउवाले तत्काल यो विषयलाई थाती राखेका हुन् ।
मुलुकको हित र कांग्रेसका लागि पनि गठबन्धन आवश्यक छ : शेरबहादुर देउवा, प्रधानमन्त्री
वास्तवमा मैले त प्रधानमन्त्री हुन चाहेकै थिइनँ । गठबन्धनकै साथीहरूको सहयोगले प्रधानमन्त्री भएको हुँ । हाम्रो उद्देश्य भनेकै नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थायी गराउनु तथा सम्पूर्ण जनताको अधिकार सुनिश्चित गर्ने हो । यो उद्देश्य गठबन्धनका सबै साथीले स्वीकार गरेकाले म प्रधानमन्त्री भएको हुँ । हामीले गठबन्धनलाई असर पर्ने कुनै पनि गतिविधि गर्न हुँदैन । सबै विषयमा सल्लाह गर्नुपर्ने हुन्छ । तपाईंहरूलाई थाहा छ– हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? हामी गठबन्धनमा रहेकाहरू मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा सरकार बनाएर रहिरहन सक्छौँ । हाम्रो संवैधानिक व्यवस्था जे छ, त्यसले कुनै पार्टीले एक्लै बहुमत ल्याउन कठिन हुन्छ । कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता छ । ठाउँठाउँमा केही समस्या होलान्, सबैसँग बसेर मिलाऊँ । उहाँहरूको आवश्यकतामा हामीले सहयोग गरौैँ । गठबन्धन मुलुकको हित र हाम्रो पार्टी स्वयंका लागि पनि आवश्यक छ । त्यसैले हाम्रो बोलीले गठबन्धनका साथीहरूलाई अनावश्यक चिढ्याउने काम गर्नु छैन । अर्कोतिर, विपक्षी पार्टी एमाले छ, सकिसक्यो भने पनि ऊ सशक्तै छ । उनीहरूमा एकता छ । पार्टी एक राख्नु आवश्यक छ, गठबन्धन कायम राख्नुपर्छ । सबै पार्टीको आवश्यकताले एमसिसी पास भएको छ, अब स्थानीय निर्वाचन पनि आइसकेको छ । कहाँ–कहाँ जित्न सकिन्छ, कहाँ–कहाँ सकिँदैन, छलफल गरेर बोल्नुपर्छ । बाहिर बोलेर गठबन्धनका साथीहरूलाई सशंकित पारेर काम छैन ।