आर्थिक अभावले एकै घरका पाँचजनाले गरे आत्महत्या प्रयास

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण
आर्थिक अभावले एकै घरका पाँचजनाले गरे आत्महत्या प्रयास

नागार्जुन नगरपालिका–६ डाँडापौवामा उद्धवराज पुरीको घर, जहाँ भीममान प्रधानका परिवार बस्दै आएका थिए ।

एकको मृत्यु, चारजनाको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौंको नागार्जुन नगरपालिका–६ डाँडापौवा बस्दै आएका भीममान प्रधानका परिवारले विष सेवन गर्नुका कारण कोभिड–१९ ले निम्त्याएको आर्थिक अभाव रहेको पाइएको छ । विष सेवनबाट ३३ वर्षीय सुवर्णमान प्रधानको ज्यान गइसकेको छ । मृतक सुवर्णमान लामो समयदेखि पोलियो रोगबाट पीडित थिए । 

एसपी दिनेश मैनाली, प्रवक्ता महानगरीय प्रहरी परिसर काठमाडौं

सोमबार बेलुका अचेत अवस्थामा पाँचजना भेटियो । उपचारका लागि अस्पताल लगेकामध्ये एकजनाको मृत्यु भइसकेको छ । अन्य चारजनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेको सूचना हामीले पाएका छौँ ।

विष सेवनपछि ३८ वर्षीय भीममानसहित उनकी आमा ६२ वर्षीय इन्दिरामाया प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीय सुप्रिया प्रधानलाई अचेत अवस्थामा उद्धार गरिएको छ । उनीहरूको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ । उनीहरूलाई सोमबार बेलुका ९:३० बजे उद्धार गरिएको थियो । चारैजनाको स्वास्थ्य अवस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले बताए । ‘सोमबार बेलुका अचेत अवस्थामा पाँचजना भेटियो । उपचारका लागि अस्पताल लगेकामध्ये एकजनाको मृत्यु भइसकेको छ । अन्य चारजनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेको सूचना हामीले पाएका छौँ,’ उनले भने ।

भीममान गत मंसिरबाट स्वयम्भू निवासी उद्धवराज पुरीको घरभाडा लिई बस्दै आएका थिए । आर्थिक अभावकै कारण उनले घर भाडासमेत तिर्न सकेका छैनन् । उनी केही दिन सोही घरमा कागजका ह्यान्डिक्राफ्ट फ्याक्ट्री खोल्ने योजनामा थिए । यहीबीचमा श्रीमती मन्दिराको खुट्टा फ्याक्चर भएपछि उनको योजना थाती रहेको थियो । पछिल्ला दिन उनीहरू कोभिडबाट पीडित बनेको घरबेटी उद्धवराजले बताए । ‘उनी मंसिरदेखि मेरो घरमा भाडामा बसेका हुन् । घरमा कागजको सामग्री बनाउने कारखाना खोल्छु भन्थे । त्यसो हुँदा सिंगै घर लिने कि फ्ल्याट मात्रै भाडा लिने भन्ने टुंगो लागेको थिएन । त्यसो हुँदा भाडा पनि निर्धारण भएको थिएन । यही क्रममा उनीहरू कोभिडबाट पीडित भएछन् । श्रीमतीको खुट्टा पनि भाँचियो भन्थे । मसँग भेट्दा आर्थिक अभाव छ  भनेर  भाडा पनि दिएका थिएनन्,’ पुरीले नयाँ पत्रिकासँग भने ।

सहकारी संस्थाको सवा चार लाख घर खर्च गरेपछि जागिरबाट बर्खास्त
प्रहरीका अनुसार भीममानकी श्रीमती मन्दिरा न्युरोडस्थित ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी संस्थामा मनी कलेक्टरका रूपमा कार्यरत थिइन् । आर्थिक अभाव भएपछि बचतकर्ताबाट संकलन भएको चार लाख २५ हजार रुपैयाँ घरखर्चमा चलाएकी थिइन् । बचतकर्ताबाट उजुरी भएपछि उनलाई सहकारीले कारबाही गर्‍यो । जागिरबाट बर्खास्त पनि गर्‍यो । खर्च भएको रकम तुरुन्तै तिर्न निर्देशन दियो । तर, उनले तिर्न सकिरहेकी थिइनन् । यहीक्रममा बचतकर्ताले महाननगरीय प्रहरी वृत्त जनसेवामा उजुरी गरे । प्रहरीले मन्दिरा र बचतकर्ताका परिवारलाई सँगै राखेर गत २० फागुनमा छलफल चलाएको थियो । रकम तिर्ने कागजातपछि प्रहरीले मन्दिरालाई घर पठाएको थियो । त्यसको तीन दिनपछि उनको सपरिवार विष सेवन गरी अचेत भएको अवस्थामा फेला परेका हुन् ।

‘भीममानकी श्रीमती सहकारी संस्थामा काम गर्ने रहिछन् । यही क्रममा उनले सहकारीको रकम अपचलन गरेको भन्दै एक बचतकर्ताले प्रहरीमा जाहेरी दिएका रहेछन् । प्रहरीले मिलापत्र गरेर पठाएको पनि देखिन्छ । त्यसको तीन दिनपछि सपरिवारले विष सेवन गरेको भेटियो । हालसम्मको अवस्था बुझ्दा आर्थिक अभावकै कारण विष सेवा गरेको जस्तो देखिन्छ,’ काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीले भने ।

नेपाः राष्ट्रिय पार्टी छाडेर तरकारी व्यापारमा हात
भीममान डल्लुका स्थानीय हुन् । उनी नेपाः राष्ट्रिय पार्टीमा आबद्ध थिए । सोही पार्टीबाट दोस्रो संविधानसभाका सभासद् बनेका साहित्यकार लक्ष्मण राजवंशीको सहयोगीसमेत बसेका थिए । विवाद भएपछि उनले पछि पार्टी छाडे । जीवन निर्वाहका लागि तरकारी व्यापार सुरु गरे । तर, सफल हुन सकेनन् । कागजका सामग्री बनाउन जानेका उनले केही समय त्यसमा पनि हात हाले । तर, त्यो पनि असफल भयो । यही क्रममा कोभिडको महामारी आयो । जसले उनको आर्थिक अवस्था झन् जर्जर बनायो । घटनास्थलमा भेटिएको सुसाइड नोटबाट पनि विष सेवन गर्नुको कारण नाजुक आर्थिक अवस्था नै भएको उल्लेख गरेका छन् । 

कुकुरका कारण सपरिवारको उद्धार हुन सक्यो 
भीममान प्रधान परिवार उद्धव पुरीको घरको दोस्रो तला फ्ल्याटमा भाडा लिई बस्दै आएका थिए । टोलछिमेकासँग उनी खासै बोल्दैनथे । परिवारका अन्य सदस्यलाई पनि बोल्न दिँदैनथे । घरमा सधैँ चुकुल लगाउँथे । टोलछिमेक कसैलाई पनि घरमा लाँदैन थिए । तर, उनी कुकुरको भने सौखिन थिए । घरमा ठुल्ठूला जर्मन सेफर्ड कुकुर पालेका थिए । सोमबार बेलुका करिब ९ बजे कुकुर अचानक भुक्न थाले । कुकुर धेरै भुक्न थालेपछि छिमेकीले भीममानलाई बोलाउन थाले । तर, कोठामा चालचुल देखिए । शंका लागेपछि छिमेकीले प्रहरीलाई खबर गरे । ढोका खोलेर हेर्दा पाँचजना अचेत अवस्थामा फेला परे । कोठामा खोलिराखेका विषका बोतल यत्रयत्र छरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार