म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा हुन लागेको धार्मिक महोत्सवको तयारीलाई तीव्र पारिएको छ। शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले महोत्सवको तयारीलाई तीव्र पारिएको जनाएको छ।
फागुन २३ देखि ३० सम्म रत्नेचौरस्थित पदम वैदिक सनातन धार्मिक आश्रममा रहेको श्रीलक्ष्मी हरि मन्दिरमा ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ हुँदै छ। लक्ष्मीहरि भगवानको २५औँ रजत जयन्ती तथा संस्थापकाचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जियर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा धार्मिक महोत्सवका रूपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको मन्दिरका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिए।
महतका अनुसार महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली)ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। उद्घाटन कार्यक्रममा सांस्कृतिक झाँकीसहित हेलिकाेप्टरमार्फत पुष्पवृष्टि गरिने उनले बताए। रत्नेचौर क्षेत्रको धार्मिक महत्वलाई उजागर र प्रचार तथा लक्ष्मीहरि मन्दिरको विकासका लागि महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष एवं मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताए।
महायज्ञको अवसरमा विभिन्न जिल्लाबाट भक्तजनहरूको आगमन हुने जनाइएको छ। धार्मिक महोत्सवको प्रचारप्रसार तथा आवश्यक तयारीका लागि १५१ सदस्यीय समिति गठन गरिएको प्रचारप्रसार समितिका संयोजक विक्रम बोगटीले जानकारी दिए।
मन्दिर स्थापना भएको २५ वर्ष र मन्दिरका संस्थापकाचार्य १०० वर्ष पूरा भएको अवसरमा आयोजित सप्ताहव्यापी महायज्ञमा संकलन हुने रकमलाई यस क्षेत्रको धार्मिक पर्यटन पूर्वाधार निर्माणमा लगाइने आयोजकले जनाएको छ। यसअघिसमेत विभिन्न समयमा आयोजित महायज्ञबाट मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको थियो।