नेपाली कांग्रेस चितवनको १४औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि चितवनमा शुक्रबार मतदान भएको छ । दुई हजार नौ सय ४४ मध्ये दुई हजार ८ सय २० मत खसेको छ । ४८ पदका लागि भएको निर्वाचनमा एक सय ९० जनाको उम्मेदवारी थियो । पाँचजना भने यस निर्विरोध चयन भएका थिए ।
जिल्लामा सभापतिको लागि पाँचजना प्रतिस्पर्धामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका मिलनबाबु श्रेष्ठ र संस्थापन इतरका चारजना प्रतिस्पर्धामा छन् भने उत्तम जोशी, राजेश्वर खनाल, डा. सूर्यकान्त घिमिरे र कैलाश कोइराला संस्थापन इतरसमूहका हुन् ।
खनाललाई शेखर कोइरालाको राम्रो साथ छ। जोशीलाई डा.शशांक कोइराला र घिमिरेलाई रामचन्द्र पौडेलको साथ छ । कोइरालालाई भने कुनै समूहले पनि आफ्नो मानेको छैन । सभापतिका लागि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको मतदान हुनेछ । राति १० बजेदेखि सभापति पदको मतगणना हुनेछ ।
दुईजना उपसभापतिका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । शालिक शर्मा पौडेल, सुरवीर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ क्षेत्री, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, नीलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मलकुमार श्रेष्ठ र राजीव न्यौपाने उम्मेदवार छन् ।
दुई सचिवका लागि आठजना र दुई सहसचिवका लागि १० जना उम्मेदवार छन् । ४१ कार्यसमिति सदस्यका लागि एक सय २२ जना र महासमिति सदस्यतर्फ ३२ पदमा ३६ जनाको उम्मेदवारी भएपछि निर्वाचन भएको थियो ।