उद्घाटन भएको आठ महिनापछि वीर अस्पतालको सर्जिकल भवनबाट सेवा सुरु

शुक्रबार, २० फागुन, २०७८
डिजिटल संस्करण

उद्घाटन भएको करिब आठ महिनापछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको सर्जिकल भवनबाट कोभिडबाहेकको सेवा नियमित भएको छ । वीर अस्पतालका प्रशासकीय अधिकारी प्राध्यापक डा.भूपेन्द्र बस्नेतले सीमित जनशक्तिबाटै भए पनि सेवा सुरु गरेको जानकारी दिए ।

सर्जिकल भवनमा सेवा दिन सरकारले आठ सय ३१ जना चिकित्सकलगायतको दरबन्दी स्वीकृत गरेको छ । तर, जनशक्तिको बहाना देखाएर विपन्न बिरामीलाई सेवाबाट वञ्चित गर्न नहुने भनेर कोभिडमा लिएका केही जनशक्तिको उचित व्यवस्थापन गरी सर्जिकल भवनबाट ननकोभिड उपचार सेवा सुरु गरिएको बस्नेतले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत २७ असारमा सर्जिकल भवनको उद्घाटन गरेका थिए । कोरोना संक्रमित बिरामी राख्ने स्थान अभाव हुँदा वीरको नयाँ सर्जिकल भवनमा राखेर उपचार सुरु गरिएको थियो । तर, अब भने जुन उद्देश्यले भवन बनाइएको हो, त्यही उद्देश्यअनुसार उपचार सेवा दिन थालिएको अधिकारीहरूले बताएका छन् । नयाँ भवनमा सर्जरी सेवालाई तीव्रता दिइने भएको छ । 

वीर अस्पतालको नयाँ सर्जिकल भवन सात तलाको छ । ग्राउन्ड फ्लोरमा रेडियोलोजीको सिटी, एमआरआई, अल्ट्रासाउन्डलगायतको सेवा सञ्चालनमा आएको छ । यसअघि तीन तलासम्म कोभिडका बिरामी राखिएको थियो । तर, अहिले कोरोना केस नभएपछि दोस्रो तलामा मात्रै कोभिडका बिरामी भर्ना गरिएको वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडभरीले बताए ।

तेस्रो तलामा अस्पतालको कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी (सिटिभिएस) सेवा, जनरल सर्जरी सेवा सुरु भएको छ । वीरले सर्जिकल भवनमा ननकोभिडका लागि २८ बेड आइसियू, कोभिडका लागि ५१ बेड आइसियू र सर्जरीका लागि १८ बेड आइसियू राखेको छ । पाँचौँ तलामा अप्रेसन थिएटर राखिएको छ । केही दिनमा अप्रेसन थिएटर सञ्चालन हुने बस्नेतले बताए । 

सुझावित समाचार