बुढानीलकण्ठ हत्या प्रकरण : लागुऔषध र पैसा नदिएको निहुँमा हत्या

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण

बुढानीलकण्ठ नगरपालिका– ५ स्थित दुलालगाउँमा एक व्यक्तिलाई निर्घात कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय याकुब चौधरी र १८ वर्षीय करण पासवान रहेका छन्। प्रहरीका अनुसार उनीहरूले फागुन १७ गते शिवरात्रिको दिन ३२ वर्षीय मानबहादुर राउतलाई बाँसको भाटाले हिर्काएर हत्या गरेका थिए।

पक्राउ परेका पासवान र चौधरीले उक्त दिन लागुऔषध सेवन गरेका प्रहरीले जनाएको छ। उनीहरूले शिवरात्रिको दिन गाँजा बिक्री–वितरणसमेत गरेका थिए। दुलालगाउँका मानबहादुरसँग उनीहरूले गाँजा र पैसा मागेका थिए। मानबहादुरले पैसा र गाँजा नदिएको झोँकमा उनीहरूले निर्घात कुटपिट गरेका थिए। त्यसलगत्तै मानबहादुरको मृत्यु भएको थियो।

प्रहरीले हत्याको आशंकामा अनुसन्धान थालेको थियो। सोही आधारमा दुईजना पक्राउ परेका हुन्। पक्राउ परेका उनीहरू लागुऔषध कारोबारमा समेत संलग्न रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार