इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि डा. हरिबहादुर दर्लामी नेतृत्वको लोकतान्त्रिक समूह (सिडेन) निर्वाचनमा होमिएको छ। नेइएको ३३औँ केन्द्रीय कार्यकारिणी समिति, दोस्रो बागमती प्रदेश समिति र इन्जिनियरिङ परिषद् सदस्यहरूको निर्वाचन फागुन २७ गते हुँदै छ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक रहेका दर्लामी नेतृत्वको नेपाली कांग्रेसनिकट सिडेनको समूहमा उपाध्यक्षमा डा. नारायणप्रसाद अधिकारी, महासचिवमा रविभूषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दीपक अधिकारी उम्मेदवार छन्। ‘इन्जनियरहरूको सम्मान, पेसागत सुरक्षा, इन्जिनियरहरूको अलग्गै प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नका लागि एसोसिएसनमा हाम्रो नेतृत्व जरुरी छ,’ अध्यक्षका उम्मेदवार दर्लामीले भने, ‘अहिलेको कार्यसमितिले इन्जिनियरहरूका समस्यामा कति काम गर्याे जगजाहेर छ। नेइएमा सिडेनको नेतृत्व हुँदा भएका काम पनि सबैलाई थाहा छ। हामी इन्जिनियरहरूको पेसागत क्षमतासँगै नेइएको संस्थागत विकासका लागि प्रतिबद्ध छौँ ।’
दर्लामी नेतृत्वको समितिको सदस्यहरूमा इन्जिनियरहरू सुरज चापागाईं, सागर भट्टराई, विनोदबहादुर पाल, कुशलता न्यौपाने, अनुपम पराजुली, निशान नेपाल, ईश्वर पोख्रेल, मनीष मल्लिक, अशेष निरौला, हरिनारायण राय यादव, खुमबहादुर भण्डारी र विद्या बराल उम्मेदवार छन्। त्यस्तै, नेपाल इन्जिनियरिङ परिषद्का सदस्यमा होमनाथ पोख्रेल पोषण थापा, राजन लामा, भरत रेग्मी र हरिराम दुवाडी उम्मेदवार छन्।
बागमतीमा पौडेल नेतृत्वमा टिम
सिडेनले बागमती प्रदेशको कार्यकारिणी समितिका लागि इन्जिनियर रोहिणी पौडेललाई सभापतिमा अघि सारेको छ। पौडेल नेतृत्वको समितिको उपाध्यक्षमा सुरेन्द्र कैनी, सचिवमा दिनेश न्यौपाने, सहसचिवमा डा.विजय थापा र कोषाध्यक्षमा विपिन भुसाल छन्। त्यस्तै सदस्यहरूमा ओशन थापामगर, प्रमोद महत, प्रह्लाद बस्नेत, रोहित पौडेल, चिरञ्जीवी खतिवडा, वृजेश सिंह, गौरव पौडेल, दिराज थापा, राकेश भट्टराई र प्रवीण क्षेत्री छन्।
‘नेइएमा काम गरेर रूपान्तरणको पक्षमा हामी छौँ। त्यसैले हाम्रो ऊर्जाशील युवा टिमलाई जिताउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ,’ अध्यक्षका उम्मेदवार पौडेलले भने। बागमती प्रदेश नेइएको सबैभन्दा धेरै सदस्य भएको प्रदेश हो। त्यस्तै, बागमतीबाट केन्द्रीय सदस्यमा सुव्रत अर्याल उम्मेदवार छन्।