कोभिडले स्थगित रत्ननगर महोत्सव सुरु

वन्यजन्तुको चरन क्षेत्र लामो समयदेखि कब्जा

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

पूर्वी चितवनको टिकौलीचौरमा रत्ननगर महोत्सव २०७८ सुरु भएको छ । यसअघि कोभिड–१९ को तेस्रो लहरका कारण स्थगित भएको महोत्सवको ११औँ संस्करणको बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका हुन् ।  महोत्सव २३ फागुनसम्म सञ्चालन हुनेछ । यसपटकको महोत्सवमा कृषि र पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिइने महोत्सव मूल समारोह समितिका संयोजक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरूको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउनेछ ।

महोत्सवमा चार सय २५ कक्ष छन् । ती स्टलमा गरिने प्रदर्शनीले उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाको परिचय गराउन सक्षम हुने आयोजकको विश्वास छ । महोत्सव तीन लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको महासचिव नीराजन खनालले जानकारी दिए । 

आयोजकले दुई महिनादेखि वन्यजन्तु चरन क्षेत्र कब्जा गरेको छ । वन्यजन्तुको वासस्थान रहेको टिकौलीचौर आयोजकले गत पुस महिनाको पहिलो सातादेखि नै ओगट्दै आएको हो । गत २७ पुसदेखि महोत्सव गर्ने तयारी गरेको आयोजकलाई प्रशासनले रोक लगाएपछि सम्पूर्ण तयारी पूरा भएपछि महोत्सव स्थगित भएको थियो । महोत्सवका स्टल, बाल उद्यानलगायतका संरचना लामो समयसम्म जस्ताको तस्तै राखेर आयोजकले सोही ठाउँमा महोत्सव गरेको हो । 

चिकेन एन्ड एग फुड  फेस्टिभल पनि
रत्ननगरमा चौथो चिकेन एन्ड एग फुड फेस्टिभल पनि सुरु भएको छ । रत्ननगर महोत्सवअन्तर्गत टाँडीचोक र सौराहाचोकको बीचमा पर्ने बसपार्कसँगै जोडिएको ठाउँमा फेस्टिभल आयोजना गरिएको हो । पोल्ट्रीको राजधानी मानिने चितवनमा कुखुराको मासु र अन्डाको खपत बढाउन र महत्व बुझाउन फुड फेस्टिभल आयोजना गरिएको हो । २५ वटा स्टल रहने फुड फेस्टिभलमा २० वटा अन्डा र १० वटा कुखुराको मासुको परिकार उपलब्ध गराइएको छ । कुखुराको मासु र अन्डासँगै माछा र बंगुरको परिकारसहित नेवारी, थारू समुदायका खाना पनि फेस्टिभलको आकर्षण बनेको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । 

सुझावित समाचार