कोरोना महामारीले दुई वर्षदेखि रोकिएको झापा गोल्डकप र दमक गोल्डकप क्रमशः २१ फागुन र ९ चैतदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार झापामा दुई गोल्डकपले प्रतियोगिता आयोजनाका लागि स्वीकृति लिएका छन् ।एन्फाको प्रतियोगिता समितिका संयोजक विजय घलेका अनुसार झापा गोल्डकप र दमक गोल्डकपले स्वीकृति लिएका हुन् । यी प्रतियोगिता यसअघि २०७५ मा दमक नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको थियो । त्यसयता प्रतियोगिता हुन सकेका छैनन् । कोरोना संक्रमण दर घटेसँगै प्रतियोगिता आयोजना गर्न लागेको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए ।
विजेतालाई १३ लाख ११ हजार पुरस्कार
दमक गोल्डकप ९ देखि १८ चैतसम्म आयोजना हुने नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज केसीले बताए । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार पाउनेछन् । उपविजेताले ६ लाख ५५ हजार पाँच सय पाउनेछन् । ‘महामारीले दुई वर्ष गोल्डकप रोकियो,’ केसीले भने, ‘अहिले केही सहज भएको छ । यसपटकचाहिँ गोल्डकप गर्छौँ ।’
महामारीले रोकिएको झापा गोल्डकपको पाँचौँ संस्करण २१ देखि ३० फागुनसम्म हुँदै छ । मोफसलको प्रतिष्ठित मानिएको झापा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको झापा गोल्डकप आयोजक समितिका अध्यक्ष बस्नेतले जानकारी दिए । फागुन ०७५ सम्म लगातार चौथो संस्करणसम्म आयोजना भएको गोल्डकप कोरोना महामारीले ०७६ र ०७७ मा हुन सकेको थिएन । झापालाई ‘फुटबल हब’का रूपमा विकास गर्न यस्ता प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख बजेट लाग्ने अनुमान गरेको अध्यक्ष बस्नेतले बताए । विगतका संस्करण पनि एक करोड ४० लाख खर्च लागेको उनले बताए । प्रतियोगिताको प्रायोजन नेपाल आइस बियरले गर्ने भएको छ । अध्यक्ष बस्नेतका अनुसार प्रतियोगिता आयोजना गर्न करिब एक करोड व्यवस्थापन भइसकेको छ । अझै करिब ४० लाख बजेट अपुग रहेको उनले बताए ।
महामारीले रोकिएको झापा गोल्डकपको पाँचौँ संस्करण २१ देखि ३० फागुनसम्म हुँदै, मोफसलको प्रतिष्ठित मानिएको झापा गोल्डकपको तयारी अन्तिम चरणमा
गोल्डकप बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । अहिले मैदान सम्याउने, प्यारापिट निर्माणलगायत काम भइरहेको अध्यक्ष विनोद बस्नेतले बताए । उनका अनुसार १२ हजार क्षमताको प्यारापिट निर्माण हुनेछ । ‘दर्शकले प्यारापिट भरिने अनुमान गरेका छौँ,’ उनले भने, ‘दर्शकमार्फत ३५ लाख रुपैयाँ संकलन हुने अपेक्षा छ । फुटबल हेर्न आउने हरेक दर्शकको टिकट शुल्कबाट एक रुपैयाँ सामाजिक सेवामा खर्चनेछौँ ।’
उत्कृष्ट खेलाडीलाई २१ हजार
झापा गोल्डकप मोफसलको प्रतिष्ठित मानिन्छ । पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ले एउटा मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद नौ हजार नौ सय ९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
विदेशी दुई टोली पनि आउँदै
गोल्डकपमा दुई विदेशी टोलीसहित १० वटा ए डिभिजन क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा भारतको दार्जिलिङको एमएफसी र सिक्किमको आरपी एफसीको सहभागिता रहनेछ । यस्तै, साविक विजेता त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टर क्लब, संकटा क्बल, झापा–११ फुटबल क्बल, एपिएफ फुटबल क्बल, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबको सहभागिता रहने आयोजक झापा गोल्डकपले जनाएको छ ।
१२ हजार क्षमताको प्यारापिट निर्माण भइरहेको छ
विनोद बस्नेत अध्यक्ष, झापा गोल्डकप
झापा गोल्डकप बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । अहिले मैदान सम्याउने, प्यारापिट निर्माणलगायतका काम भइरहेको छ । १२ हजार क्षमताको प्यारापिट निर्माण भइरहेको छ । दर्शकले प्यारापिट भरिने अनुमान गरेका छौँ । दर्शकमार्फत ३५ लाख रुपैयाँ संकलन हुने अपेक्षा छ । फुटबल हेर्न आउने हरेक दर्शकबराबर एक रुपैयाँ सामाजिक सेवामा खर्चनेछौँ ।