स्वास्थ्यमन्त्री खतिवडा र मुख्यसचिव बैरागीद्वारा अंगदानको घोषणा

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले अंगदान गर्ने घोषणा गरेका छन्। राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंगदान गर्ने घोषणा गरेका हुन्।

कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंगदान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे। उनले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्न गाउँगाउँसम्म स्वास्थ्य केन्द्रहरू पुर्याउनुपर्ने भन्दै थप जनशक्तिको आवश्यकता परिपूर्ति गर्ने पनि विश्वास व्यक्त गरे।

मन्त्री खतिवडाले भने, ‘मैले अंगदान गर्ने घोषणा गरेँ, त्यसका लागि मालपोत कार्यालयमा कहाँकहाँ ल्याप्चे लगाउँछन्, सही गराउँछन्, त्यस्तै मैले कहाँकहाँ ल्याप्चे सही गर्नुपर्ने हो तयारी गरिदिनुहोला । चुनौतीले अवसर दिन्छ भनेजस्तै हामीलाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुन गाउँगाउँसम्म स्वास्थ्य केन्द्रहरू पुर्याउन, स्वास्थ्य सामग्रीहरू पुर्याउन, अनेकौँ ढंगबाट भौतिक संरचनाहरू निर्माण गर्न, स्वास्थ्यमा थप जनशक्तिको आवश्यकता छ भन्ने कुरातर्फ ध्यान आकर्षण गराउन, यी हरेक क्षेत्रमा यसबीचको केही अवधिमा निकै राम्रो प्रगति गरेका छौँ। प्रगति गर्ने क्रममा नै छौँ।’

त्यस्तै, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले आफू अंगदान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरू सार्वजनिक गर्ने बताए। उनले स्वास्थ्य सेवालाई उचाइमा पुर्याउन खुला, पारदर्शी, व्यवस्थित ढंगबाट छलफल गरेर सरकारले धान्न र बोक्न सक्नेसम्मको सेवासुविधा विस्तार गर्नेदेखि ऐन, कानुन मिलाउने कुराहरूमा आफ्नो प्रत्यक्ष भूमिका रहने पनि बताए।

सुझावित समाचार