युद्धग्रस्त युक्रेनका विभिन्न भागबाट पश्चिमी सीमाक्षेत्र जम्मा भएका एक सयभन्दा बढी नेपालीहरू युक्रेन–पोल्यान्ड सीमाक्षेत्र पुगेका छन् । राजधानी किभलगायतका सहरबाट सीमित संख्यामा सञ्चालन भएका भूमिगत रेलबाट थप नेपालीहरू सीमाक्षेत्र जान थालेका छन् । युक्रेनका विभिन्न भागमा रुसको आक्रमण जारी रहँदा चार दशकदेखि युक्रेनमा रहँदै आएका नेपालीहरू पनि देश छाड्ने मनस्थितिमा पुगेका छन् ।
‘युक्रेनको लिभिव भन्ने ठाउँबाट हामीले पोल्यान्डको भूमि टेकेका छौं, अहिले अध्यागमन जाँदैछौँ,’ पोल्यान्ड पुगेका पर्वतका गोकुल शर्माले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘एक सयजनाभन्दा बढी ३० किलोमिटर हिँडेर आइपुगेका छौं । थप आउने क्रममा हुनुहुन्छ ।’
लिभिवबाट ८० किलोमिटर दूरीको सीमामा पुग्न दुई दिन लागेको उनले बताए । ‘बल्लतल्ल आइपुगेका छौं, पोल्यान्डको अध्यागमनले के गर्छ थाहा छैन,’ शर्माले भने, ‘त्यसपछि हामीलाई कुनै क्याम्पमा लगेर राखिने र खाने बन्दोबस्त गर्ने भन्ने सुन्नमा आएको छ । ’
नेपालीहरू भोकभोकै सीमाक्षेत्र पुगेका छन् । ‘युक्रेन–पोल्यान्ड सीमाक्षेत्रमा ३० किलोमिटर जति गाडीको जाम छ, हामी बल्लतल्ल आइपुग्यौं, अब ज्यान जोगिन्छ भन्ने आशा भएको छ,’ शर्माले भने, ‘दुई दिनदेखि भोकै छौं । साथीभाइले बोकेका बिस्कुटको भरमा आएका छौँ । पसल, रेस्टुरेन्ट सबै बन्द छ । ’ जर्मनीस्थित नेपाली दूतावासले कागजात नभएका नेपालीलाई ट्राभल डकुमेन्ट बनाएर पठाइदिएको उनले बताए ।
युक्रेनका लागि नेपाली राजदूत रामकाजी खड्काले शनिबार दिउँसोसम्म पाँचजना नेपाली पोल्यान्ड पुगेको र एकजना रोमानिया पुगेको जानकारी दिएका छन् । उनका अनुसार करिब दुई सयजना नेपाली नागरिक दूतावासको सम्पर्कमा आइपुगेका छन् । गैरआवासीय नेपाली संघको समन्वयमा पोल्यान्ड पुगेका नेपाली नागरिकलाई स्वदेश फर्किने वातावरण बनाउन लागिएको खड्काले बताए ।
पूर्वी युक्रेनको मारियोपोलमा सातजना नेपाली छन् । पूर्वीयुक्रेनकै खार्किभमा पनि कम्तीमा ६ जना नेपाली सम्पर्कमा आएका छन् । एकजना नेपालीले भने, ‘हामी त्रासमा छौं । दिनभरि बम र क्षेप्यास्त्र पड्किएको सुनेर बसेका छौं । बाहिर निस्किने अवस्था छैन, के हुन्छ, ठेगान छैन ।’
ठूलो संख्यामा भारतीय नागरिक त्यहाँ रहेको उनले बताए । ‘हाम्रो नाम भारतीय दूतावासमा पनि टिपाइएको छ, उनीहरूको उद्धार हुँदा हाम्रो पनि हुन्छ भनिएको छ,’ परिचय नछाप्न आग्रह गर्दै ती नेपालीले भने, ‘हामी बसेको ठाउँ युद्धक्षेत्र भएको हुनाले परिस्थिति अलिकति सामान्य नभएसम्म उद्धार सम्भव छैन ।’ खार्किभमा युक्रेन बाहिरका ८० हजार विद्यार्थी छन् भने भारतीयहरूको संख्या ठूलो छ । त्यहाँ नेपाली विद्यार्थीहरूलाई पनि भारतीय एजेन्टले भारतीय विद्यार्थीहरूसँगै पुर्याएको एक नेपाली विद्यार्थीले बताए । खार्किभ राजधानी किभबाट ६ सय किलोमिटर पूर्वमा छ ।
युक्रेनको राजधानी किभबाट दुई किलोमिटर पश्चिमको बेलासरगुवामारहेका दोलखाका गान्वा थामीले भूमिगत रेलवे स्टेसनमा उनीसहित १४ जना नेपालीहरू बसिरहेको सुनाए । ‘हामी रेलवे स्टेसनमा छौं, कहिलेकाहीँ रेल चलेको छ, तर आउने जाने निश्चित रहेनछ’ उनले टेलिफोनमा भने, ‘युक्रेन बाहिर निस्किन पाइन्छ कि भनेर दुई दिनदेखि रेलवे स्टेसनमा छौँ । चाउचाउ बिस्कुटको भरमा बसेका छौँ ।’
आफूसहितका नेपालीहरू पोल्यान्डको सीमाक्षेत्र जान लागेको थामीले बताए । ‘उता पुगेका साथीहरू सम्पर्कमा हुनुहुन्छ, हामीलाई अहिले पोल्यान्ड सीमाबाट बाहिर निस्कन सजिलो हुन्छ भनिएको छ, रेलको प्रतीक्षामा बसेका छौँ,’ थामीले भने, ‘सरकारले यस्तो अवस्थामा उद्धार गरिदिएला भन्ने आशा छैन । हामी फसेका छौं, जसोतसो बाहिर निस्किने प्रयासमा छौँ ।’
रेलवे स्टेसनभन्दा बाहिर पनि नेपालीहरू रहेको उनले सुनाए । उनका अनुसार नेपालीहरू सुरुमा किभ सहरबाट लिभिब (स्लोभाकिया र पोल्यान्ड, हंगेरी नजिकको ठाउँ) सहर जाने उपायको खोजीमा छन् । एक नेपाली विद्यार्थीका अनुसार युक्रेनको राजधानी किभबाट पोल्यान्डको समिाक्षेत्र लिभिवसम्म शनिबार राति रेलमा केही नेपाली विद्यार्थीहरू प्रस्थान गर्दैछन् । नेपालीहरूले ‘नेपलिज इन वार जोन’ नामक ह्वाट्सअप ग्रुप बनाएर एक अर्कालाई सूचना आदानप्रदान गरिरहेका छन् । आइतबारसम्म पोल्यान्डको सीमा क्षेत्रमा थप नेपालीहरू पुग्ने एकजना नेपाली विद्यार्थीले बताइन् ।
परिस्थिति झन् विकराल बन्दै गयो
गैरआवासीय नेपाली संघ युक्रेनका अध्यक्ष हरिबहादुर मल्लले युक्रेनका सबै भूभागको परिस्थिति झन्पछि झन् गम्भीर र विकराल बन्दै गएको बताए । ‘सुरुमा पूर्वी भाग र राजधानीभन्दाबाहेक अन्यत्र असहज नहोला भन्ने अनुमान थियो । तर, अहिले युक्रेनभरि आक्रमण भइरहेको छ,’ उनले टेलिफोनमा भने, ‘अहिले (शनिबार साँझ)सम्म रुस र युक्रेनमध्ये हारजितको अवस्था भएको छैन । तर, बमबारी भइरहेको छ ।’ मल्लसहित ३८ जना नेपालीहरू युक्रेनको दक्षिण पश्चिमी क्षेत्र आडेसामा बसोबास गर्दै आएका छन् । ‘यो ब्ल्याक सी रहेको क्षेत्र हो । युक्रेनबाट क्रिमियामा पानी जाने ठाउँ हो । यहाँ युक्रेनी बन्दरगाह भएको हुनाले आक्रमण भएको हुनसक्छ,’ मल्लले भने, ‘२०१४ मा क्रिमिया लिएपछि, अहिले हामी नजिकैको काखोभ्क सहर बिहीबारै उसले कब्जा गरिसकेको छ । गोली चलेको आवाज सुनेर बस्न हामी विवश छौँ ।’
एक लाखभन्दा बढी युक्रेनीले देश छाडे
युक्रेनविरुद्ध बिहीबार सैन्य अपरेसन घोषणा गरेको रुसले राजधानी किभमाथि शुक्रबार र शनिबार हमला जारी राखेको छ । युक्रेनी अधिकारीहरूले राजधानी किभमा मात्रै सरकारी नियन्त्रणमा रहेको शनिबार बताएका छन् । शुक्रबार किभ प्रवेश गरेका रुसी सैनिकले युक्रेनभरि नै हवाई, स्थल र सामुद्रिक माध्यमबाट हमला जारी राखेका छन् । शनिबार साँझसम्म युक्रेनी सेनाले रुसी सैनिकसँग मुकाबिला गरिरहेको सिएनएनले जनाएको छ । युक्रेनले रुससँग लडाइँमा सहभागी हुने जो कसैलाई हतियार उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
युक्रेनी स्वास्थय मन्त्रालयका प्रमुख भिक्टोर लियास्कोले शनिबार साँझसम्म तीनजना बालबालिकासहित एक सय ९८ जना सर्वसाधारण युक्रेनीको मृत्यु भएको बताएका छन् । उनका अनुसार ३३ जना बालबालिकासहित एक हजार एक सय १५ जना घाइते भएको विवरण प्राप्त भएको युक्रेनी समाचार एजेन्सी युक्रिन्फमले जनाएको छ । अहिलेसम्म एक लाखभन्दा बढी युक्रेनी नागरिकले देश छाडेका छन् ।
अमेरिकाले शनिबार रुसविरुद्ध लड्न युक्रेनलाई ३५ करोड अमेरिकी डलर सैन्य सहायता तत्कालै उपलब्ध गराउने घोषणा गरेको छ । यद्यपि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले युक्रेनलाई भौतिक रूपमा सघाएको छैन । रुसी सैनिकले युक्रेनका राजधानीसहित मुख्य सहरहरूमा आक्रमण जारी राखेका छन् । सर्वसाधारणका सम्पत्ति ध्वस्त भएको विवरण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएका छन् । रुसविरुद्ध अमेरिका, बेलायतसहित विभिन्न देशले प्रतिबन्ध लगाउने क्रम जारी राखेका छन् ।
अमेरिकाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई युक्रेन छाड्न अनुरोध गरे पनि उनले अस्वीकार गरेका छन् । उनले अन्तिमसम्म आफू लड्ने बताएका छन् । उनले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई शनिबार पनि अपिल गरेका छन् । रुसी बाहुल्य पूर्वी युक्रेनकाका डोनेट्स्क र लुह्यान्स्क क्षेत्रलाई रुसले अलग देशको मान्यता दिँदै त्यस क्षेत्रमा सेना परिचालन गर्न आदेश दिएपछि त्यस क्षेत्रमा रुस र युक्रेनबीच तनाव बढ्दै गएको थियो । त्यही सिलसिलामा बिहीबार रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेको हो । रुसको युद्ध घोषणासँगै युक्रेनले एक महिना मार्शल (सैनिक) कानुन लागू गरेको छ र सबै नागरिक उड्डयन बन्द गरेको छ । युक्रेनविरुद्ध भएको रुसी आक्रमणप्रति नेपालसहित अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।
भोकभोकै पोल्यान्ड पुग्यौँ : गोकुल शर्मा, पोल्यान्ड पुगेका विद्यार्थी
हामी आज साँझ पोल्यान्ड आइपुगेका छौं । सीमावर्ती लिभिवबाट ३० किलोमिटर सीमा क्षेत्र पार गरेर भोकभोकै आएका छौं । एक सयजनाभन्दा बढी नेपालीहरू यहाँ हुनुहुन्छ । राजधानी किभबाट नेपालीहरू आउने क्रमा जारी छ । कतिपय असहज ठाउँबाट आउन गाह्रो छ ।
सम्भव भएका सबै उपाय अपनाएर युक्रेन छाड्ने प्रयत्नमा सबैजना हुनुहुन्छ । पोल्यान्डको सीमा क्षेत्रमा हामी आइपुग्दा मैले देखेको गम्भीर दृश्य यो हो कि युक्रेन छाड्नेमा दुई तिहाइ जति युक्रेनकै मानिस छन्, बाँकी एक तिहाइ मात्रै विदेशी छन् ।
३० किलोमिटर आइपुग्न दुई दिन लाग्यो । ३० किलोमिटर सडकमा गाडीको लस्कर छ र पूरै जाम छ । हाम्रो अगाडि मात्रै दुई हजारजनाको लाइन छ । पछाडि कति छ कति, थाहै छैन । हामी जर्मनीमा रहेको नेपाली दूतावाससँग सम्पर्कमा छौँ ।
उहाँहरूले हाम्रो हालखबर बुझिरहनुभएको छ । डकुमेन्ट नभएकाहरूलाई ह्वाट्सएपबाटै डकुमेन्ट पठाएर सहयोग गर्नुभएको छ । हामी पोल्यान्ड प्रवेश गरेका छौँ ।
यहाँको अध्यागमन पार गरेपछि क्याम्पमा बस्ने खाने व्यवस्था छ भनिएको छ । अझै कम्तीमा पनि पाँचदेखि ६ घन्टा लाग्ने अनुमान छ । हामी अध्यागमन जाने लाइनमै छौँ । अध्यागमन पार गरेपछि बल्ल ढुक्कले सास फेरिन्छ ।