जिल्लाभित्र र बाहिरबाट गोरखा सदरमुकाम भित्रिएका सवारीसाधन व्यवस्थापन गर्न सधैँ समस्या हुने गरेको छ। सदरमुकामआसपासका क्षेत्रमा व्यवस्थित र फराकिलो पार्किङ गर्ने ठाउँ नहुँदा सवारीचालकले सास्ती खेप्दै आइरहेका छन्।
बसपार्क नहुँदा अहिले गोरखा सदरमुकाममा सडकछेउमा अव्यवस्थित रूपमा पार्किङ गर्ने क्रम बढेको छ। पार्किङको समस्या समाधानका लागि गोरखा नगरपालिका–७ स्थित डुम्रीडाँडामा बसपार्क निर्माण सुरु गरेको चार वर्ष भइसक्यो। तर, हालसम्म पनि बसपार्क निर्माण कार्य पूरा नहुँदा समस्या उस्तै छ।
बसपार्क निर्माणका लागि पर्याप्त बजेट विनियोजना नहुँदा र बसपार्कसम्म सहज सडकको पहुँचसमेत नहुँदा बसपार्क निर्माण कार्यमा ढिलाइ भएको संघीय आयोजना कार्यान्वय इकाइ कास्कीका सबइन्जिनियर पुरुषोत्तम पंगेनीले बताए। बसपार्कमा हालसम्म रिटेनिङ वाल निर्माण र ग्राभेलको काम पूरा भइसकेको छ। दुईवटा ब्लकमा कार्यालय, टिकट काउन्टर, शौचालयलगायत गरी पाँचवटा कोठाको भवन निर्माण भइसकेको उनले बताए।
थप पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा ४५ लाख बजेट विनियोजना भएको छ। उक्त बजेटबाट बसपार्कमा नाली निर्माण, बाटो पिच, ढलान गर्नेलगायतका कामका लागि शिव निर्माण सेवाले जिम्मा लिएको छ। सम्झौता भएअनुसार आगामी असार मसान्तसम्म सबै काम सक्नुपर्ने पंगेनीले बताए। तर, यो बजेट पर्याप्त भने नभएको उनले बताए। उनका अनुसार गोरखा बजारबाट बसपार्कसम्मको करिब चार किलोमिटर सडक पिच, सडक फराकिलो बनाउने र बसपार्कमा आवश्यक पूर्वाधार निर्माणका लागि थप पाँच करोड बजेट चहिन्छ।
यसअघि बसपार्क निर्माण कार्य साबिकको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले हेर्दै आएको थियो। पछि कार्यालयले ०७५ सालमा बसपार्क निर्माणको जिम्मा संघीय आयोजना कार्यान्वन इकाइलाई सुम्पिएको हो। तीन तहका सरकार बनेपछि बसपार्क निर्माणको योजना संघीय सरकारमार्फत कार्यान्वयन हुने क्रममा इकाइमातहत आएको हो।
अहिले गोरखाको ग्रामीण सडकमा चल्ने यात्रुवाहक बस घ्याम्पेसाल टिकट काउन्टर र खोलखोलेका ग्यारेजआसपास पार्किङ हुने गरेको छ। पक्की रुटमा चल्ने यात्रुबस यसअघि नयाँ बसपार्कमा पार्किङ हुन्थ्यो भने अहिले सडकछेउको खुला ठाउँमा नयाँबजार क्षेत्रमा पार्किङ हुँदै आएको छ। माइक्रोबस भने सवारीधनीको घरअगाडिका सडकमा देखिन्छन्। गोरखा बजार क्षेत्रमा पार्किङ व्यवस्थित नहुँदा शैक्षिक भ्रमणको सिजनमा यहाँ आएका सवारीसाधन व्यवस्थापनमा निकै समस्या हुने गरेको छ। सडकछेउमा पार्किङ गराउँदा दुर्घटनाको जोखिमसमेत बढेको ट्राफिक प्रहरीले जनाएको छ।