एमालेसँग समीकरण गरेर एमसिसी पास गर्न प्रधानमन्त्री स्वतन्त्र हुनुहुन्छ : पूर्वप्रधानमन्त्री खनाल

बुधबार, ११ फागुन, २०७८
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा एमालेसँग समीकरण गरेर संसदबाट एमसिसी पास गर्नका लागि स्वतन्त्र भएको बताएका छन् । बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले देशहितविपरीत एमसिसी पास गर्ने कांग्रेसको अडान हो भने प्रधानमन्त्री देउवा एमालेसँग समीकरण गरेर अगाडि बढ्न स्वतन्त्र रहेको बताएका हुन् । 

‘समीकरण कसले कस्तो गर्ने भन्ने कुराको निम्ति हामी सबै स्वतन्त्र छौँ । यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढ्न चाहन्छ भने मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाईं स्वतन्त्र हुनुहुन्छ । अरू कांग्रेसका नेताहरूलाई पनि भनेको छु– तपाईंहरू स्वतन्त्र हुनुहुन्छ । हामी हाम्रो बाटो हिँड्छौँ । आ–आफ्नो बाटो हिँड्नुपर्ने एउटा स्थिति आउन सक्छ,’ नेता खनालले भने, ‘त्यसले केही फरक पार्नेवाला छैन । त्यसो गरिहालेमा पनि आकाश खस्नेवाला पनि छैन, पृथ्वी फाट्नेवाला पनि छैन ।’ 

नेता खनालले प्रधानमन्त्री देउवा अमेरिकाको पासोमा परेको बताएका छन् । अमेरिकी पासोमा परेर प्रधानमन्त्री देउवा एमसिसी पास गर्न लागिपरेको उनकाे भनाइ छ । उनले नेकपा (एस) र नेकपा माओवादी केन्द्रले एमसिसीको विपक्षमा मतदान गर्ने  बताउँदै प्रधानमन्त्री देउवासँग एमसिसी पास गर्नका लागि अब एमालेसँग साँठगाँठ गर्नुको विकल्प नभएको पनि बताए ।  

नेता खनालले एमसिसी सम्झौता गरेपछि नेपालले उदार अर्थतन्त्र मान्नुपर्ने, उदार लोकतन्त्र मान्नुपर्ने, बजार अर्थतन्त्र मान्नुपर्ने, अमेरिकाको प्रचलित कानुनहरू र पछि बन्ने कानुनहरू पनि मान्नुपर्नेजस्ता सर्तहरू रहेको उल्लेख गर्दै यस्ता विषयहरूमा नेपालले एमसिसी पास गर्न नसक्ने बताए । 

उनले संविधानको विपरीत एमसिसी संसदमा टेबुल भएकाले आफूले विरोध गरेको बताए । नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले एमसिसी टेबुल गर्ने सहमति दिएको भन्ने सुन्नमा आएको भए पनि पार्टीले कुनै पनि निर्णय नगरेको बताए । उनले भने, ‘संविधानका खिलाफ गएर अहिले यो टेबुल भएको छ । यसकारण पनि मैले विरोध गरेको छु । हाम्रो अध्यक्षले पनि सहमति दिनुभएको भन्ने कुरा छ, तर हाम्रो पार्टीले त्यसरी टेबुल गर्नुपर्छ भनेर कतै निर्णय गरेको छैन ।’

सुझावित समाचार