लोसपामा फुट, बृशेषचन्द्र लालको नेतृत्वमा तमलोपालाई सक्रिय बनाउने

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकारिणी सदस्य बृशेषचन्द्र लालले पार्टी परित्याग गरेका छन्। उनीसहितका नेताहरूले आज जनकपुरमा पत्रकार सम्मेलन गर्दै लोसपा परित्याग गरेको घोषणा गरेका हुन्। लालसहित डा. विजयकुमार सिंह, रामजी राय, धीरेन्द्रबहादुर सिंह, सतिसलाल दासलगायतले लोसपा परित्याग गरेको घोषणा गरेका हुन्।

पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएको उनले आरोप लगाएका छन्। ‘पार्टी संस्थागत रूपमा चलेन। चारजनाको प्रालिजस्तो भयो,’ उनले भने, ‘व्यक्तिगत स्वार्थले पार्टी चल्दैन। त्यसैले हामीले लोसपा छोड्ने निर्णय गरेका छौँ।’

संघीयतामा क्षेत्रीयता पनि चाहिने उनले बताए। उनले आफूहरूले फेरि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पुनर्गठन गर्न लागेको जानकारी दिए। ‘आज मधेसको प्रतिनिधित्व गर्ने कुनै राजनीतिक दल छैन,’ पार्टी परित्याग गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बृहत् राजनीतिक शक्तिको निर्माणको नाममा सरकारहरू बनाउन भएका एकीकरण वा विभाजनले मधेसकेन्द्रित दलहरूको अस्तित्व नै रहेन।’ नेतृत्व मधेसकेन्द्रित नामबाटै तर्सिन थालेको लालको बुझाइ छ। लोकतन्त्रवादी मधेसी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको लाल समूहको बुझाइ छ।

मधेसका जनताको चाहनाअनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकताबमोजिम स्वशासन र संघीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेस एजेन्डाप्रति प्रतिबद्ध राजनीतिक दल आजको आवश्यकता भएकोले लोसपा त्यागेर तमलोपामा समावेश भएको उनीहरूले जनाएका छन्। 

लोसपा चारजनामा सीमित भयो : लाल
लोसपामा चरम व्यक्तिवाद हाबी भएको लालको आरोप छ। लोसपा चार नेताको प्राइभेट कम्पनीजस्तो भएको उनले बताए। ‘मधेसका विभिन्न पार्टीको एकीकरणपछि बनेको राजपामा जसरी भागबन्डाको संस्कृति देखिएको थियो त्यसको पनि हामीले विरोध गरेका थियौँ,’ उनले भने, ’राजपामा पदका लागि अध्यक्षमण्डल बनाउँदा पनि गलत भयो भनेका थियौँ। लोसपा पनि त्यसबाट मुक्त हुन सकेन। केही नेताहरूमा सीमित गराउन थालियो।’ 

पार्टी एकताका नाममा पनि राजनीतिक अभिष्ट पूरा गर्ने काम नेताहरूबाट भएको लालको आरोप छ। सत्ता र शक्तिका लागि मधेसका जनताको मत कहिले कांग्रेस त कहिले कम्युनिस्टलाई बुझाउने काम पार्टी नेताहरूले गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

नेपाली कांग्रेस परित्याग गर्दै महन्थ ठाकुरले तमलोपा गठन गरेका थिए। पछि मधेसकेन्द्रित विभिन्न पार्टी मिलेर राजपा गठन भएको थियो। राजपा र उपेन्द्र यादव नेतृत्व समाजवादी पार्टीको एकीकरण भएपछि जनता समाजवादी पार्टी गठन भयो। तत्कालीन केपी ओली सरकारलाई समर्थन गर्ने विषयमा जसपामा विवाद देखिएको थियो। जसपामा महन्थ ठाकुर समूहले ओली सरकारलाई समर्थन गरेपछि संस्थापन पक्षले उनीहरूलाई कारबाही गरेको थियो। ठाकुर पक्षलाई जसपाले कारबाही गरेपछि उक्त विषय निर्वाचन आयोगमा पुग्यो। निर्वाचन आयोगले हेडकाउन्ट गर्दै संस्थापन पक्षलाई आधिकारिकता दिएपछि महन्थ ठाकुर, राजेन्द्र महतोहरूले लोसपा गठन गरेका थिए।

सुझावित समाचार