मकवानपुरगढी गाउँपालिकाले देशमै पहिलोपटक किसानका लागि नौलो योजना कार्यान्वयनमा ल्याएको छ । किसानलाई सहुलियतपूर्ण ऋण प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले बैंकिङ क्रेडिट कार्ड वितरण गरेको हो । चालू आर्थिक वर्ष ०७८/७९ मा मकवानपुरगढीका आठ सयजना किसानलाई सस्तो ब्याजदरमा दुई लाख रुपैयाँ विनाधितो ऋण प्रवाहका लागि क्रेडिट कार्ड वितरण गर्नेे गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताए ।

‘मकवानपुरगढी कृषि विकासको पर्याप्त सम्भावना भएको र जिल्लामै कृषि उत्पादन व्यापक हुने भएकाले म निर्वाचित भएर आएपछि कसरी किसानलाई कृषिमै जीविकोपार्जनका सम्भावना हुन सक्छन् भन्ने अध्ययनमै थिएँ,’ हुमागाईंले भने, ‘बैंकिङ प्रक्रियाअनुसार विनाधितो किसानलाई क्रेडिट कार्ड उपलब्ध गराउन सकिने भएपछि यस्तो योजना अघि बढाइएको हो ।’
क्रेडिट कार्डका कारण किसानहरूको मनोबल बढेको र उनीहरूलाई रकम अभाव हुँदा पनि कृषि उत्पादनमा कुनै प्रभाव नपार्ने हुमागाईंले बताए । विशेष गरी गाउँपालिकाले साना र सीमान्तकृत किसानमा वित्तीय पहुँच विस्तार गर्न क्रेडिट कार्डमार्फत ऋण प्रवाह गरिरहेको हुमागाईंले बताए ।
गाउँपालिकाले नेपाल बंगलादेश बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालिसँगको सहकार्यमा क्रेडिट कार्ड वितरण अघि बढाएको हो । चालू आर्थिक वर्षको हालसम्म एक सयजनाले कार्ड पाइसकेको र ५१ जनाले ऋण लिइसकेको गाउँपालिकाका कृषि शाखा प्रमुख अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिए । सहकारीमार्फत बैंकले किसानलाई ऋण दिने भएकाले कागजी प्रक्रिया अघि बढाउन समय लागेका कारण लक्ष्यअनुसार किसानलाई समेट्न धेरै समय लागेको चौधरीले बताए ।
किसानलाई ऋण दिँदा तोकिएको कामका लागि रकम दिइने र अनुगमनपछि मात्र ऋण प्रवाह हुने योजनामा उल्लेख छ । सरकारले तोकेको ब्याजदरमा छुट दिएर ऋण प्रवाह हुनेछ । हालसम्म बढीमा ५ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गरिएको शाखा अधिकृत चौधरीले बताए ।
उनका अनुसार मनकामना दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी–३, मक्राञ्चुलीमार्फत ३३ जना, वन तथा काष्ठजन्य विविधीकरण सहकारी संस्था मकवानपुरगढी–५ मार्फत १० जना र जनप्रगतिशील दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी–७, सुकौरामार्फत आठजना गरी जम्मा ५१ जना किसानलाई क्रेडिट कार्डमार्फत एक करोड दुई लाख लगानी प्रवाह भइसकेको छ ।
६५ जनाको फाइल बैंकमा लगानीको प्रक्रियाका लागि अगाडि बढाइएको छ । गाउँपालिकामा रहेका करिब आठ सय किसानलाई यो योजनामा समावेश गर्ने र आगामी असार मसान्तसम्म सबैलाई कार्ड वितरण गरिसक्ने गाउँपालिकाको लक्ष्य छ ।