एमाले केन्द्रीय लेखा आयोगको दोस्रो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको बैठकले गरेका निर्णय शनिबार सार्वजनिक गर्दै आयोगका अध्यक्ष डा. पुष्प कँडेलले पार्टीभित्रको आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राख्दै आउँदो चैत मसान्तभित्र पार्टीको केन्द्रीय कोषको आन्तरिक लेखापरीक्षण गर्ने निर्णय गरेकोे जानकारी दिए ।
पार्टीका सबै जनसंगठन र मातहतका कमिटीभित्रको आर्थिक गतिविधिलाई आयोगले लेखापरीक्षण गरी पारदर्शी र जवाफदेही बनाउने कँडेलको भनाइ छ । प्रदेश तथा जिल्ला कमिटीको आर्थिक वर्ष ०७७/७८ को लेखापरीक्षण सम्पन्न गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
यसका लागि प्रदेशस्तरमा लेखा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, पार्टीको स्थिर सम्पत्तिको अभिलेख तयार गर्ने र जनसंगठनहरूको भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्नेलगायत आयोगको आन्तरिक परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले लेखापरीक्षण नियमावली २०७२ (प्रथम संशोधन २०७८), पार्टीको आर्थिक परिचालन र लेखा व्यवस्थापनका निम्ति केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम २०७८ सँगै लेखा व्यवस्थापन तथा लेखा निर्देशिका २०७८ समेत पारित गरेको उनले जानकारी दिए ।
बैठकले प्रेमप्रसाद पराजुली (काठमाडौं), केशबहादुर केसी (कास्की), रामेश्वर श्रेष्ठ (ललितपुर), लक्ष्मी शाह (दैलेख), लीलाधर तिवारी (सुर्खेत), बद्री भट्टराई (बारा) र जनक बराल (काठमाडौं)लाई सदस्यमा मनोनीत गरेको आयोगका सचिव शिव अधिकारीले जानकारी दिए ।