विवादमा मन्त्री आले, आरोप तथ्यहीन रहेको सचिवालयको दाबी

मंगलबार, ३ फागुन, २०७८
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले विवादमा तानिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोका कारण मन्त्री आले विवादमा तानिएका हुन्।

मन्त्री आले र हाल भारतको मुम्बई बस्दै आएका एक नेपाली युवाबीच भएको संवादका क्रममा मन्त्री आलेले प्रयोग गरेको शब्दलाई लिएर उनी आलोचित भएका हुन्। उक्त भिडियो सार्वजनिक भएपछि मन्त्री आलेको सचिवालयले भने उनीविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै आपत्ति जनाएको छ।

मन्त्री आलेका स्वकीयसचिव हेमन्त रेग्मीले मन्त्रीलाई अप्ठ्यारोमा पार्न नियोजित रूपमा भिडियो कल रेकर्ड गरिएको प्रतिक्रिया दिएका छन्। ‘मन्त्रीज्यूको विरुद्धमा ती व्यक्ति एक वर्षदेखि लागिपरेका थिए, सामाजिक सञ्जालमा तथानाम गालीगर्दथे। अति भएपछि मन्त्रीज्यूले कल गर्नुभएको हो,’ रेग्मीले नयाँ पत्रिकासँग भने। यस सम्बन्धमा केहीबेरमा विज्ञप्ति जारी गरिने उनले जानकारी दिए।

ती व्यक्तिले निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी)का  नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएकाे रेग्मीले बताएका छन्।

सुझावित समाचार