चिसोमा कठ्याँग्रिँदै माडीका चेपाङ, घर पाउने सपना अझै अधुरो

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

चितवनको माडी नगरपालिकाका चेपाङले पक्की घरको आशामै यस वर्षको चिसो पनि बिताएका छन् । सुकुमबासी चेपाङहरूले पटकपटक आश्वासन पाए पनि घर नपाएको गुनासो गरेका छन् । माडी नगरपालिका–७ को देवेन्द्रपुरस्थिते परुई खोलाको किनारमा बस्दै आएकी ६२ वर्षीय जालीमाया चेपाङले नयाँ घर नपाएपछि पुरानै घर मर्मत गरेर बसेकी छिन् । 

‘७० वर्षका श्रीमान् मजदुरी गर्न गोरखा गएका छन् । म बुढी मान्छे सकि नसकि टालटुल गरेर बसेको छु’ जालिमायाले भनिन् । उनी जस्तै परुई खोलाको किनारमा रहेका ५५ घरका ३ सयभन्दा बढी चेपाङलाई पक्की घरमा बस्ने रहर छ । 

माडी नगरपालिका–९ स्थित कुसुमखोलाका चेपाङहरू २०७५ मा माडी नगरपालिकाले आफ्नै जमिनसहित वसोबासको व्यवस्था मिलाईदिने आश्वासन दिएपछि परुई खोलाको किनारमा आएका हुन् । कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समितिका सचिव कमल चेपाङ बस्ती व्यवस्थापनको लागि कसैले चासो नदेखाएको बताउँछन् । ‘हामी जंगलका पशु जस्तै भएका छौँ,’ उनले भने ‘ओत लाग्ने घर र काम गरेर खाने जमिन पनि हामीसँग छैन् ।’

राष्ट्रिय निकुञ्जको अवरोधका कारण चेपाङको घर निर्माण गर्न नसेको माडी नगरपालिकाले बताउँदै आएको छ । कुसुमखोला क्षेत्रमा ०५३ देखि धादिङ र मकवानपुरबाट आएका चेपाङ परिवार बस्दै आएकोमा निकुञ्जकै कारण उनीहरू विस्थापित हुन बाध्य भएका थिए । विस्थापित भएर माडीको प्याउलु, राईटोल र खरकट्टामा रहेका चेपाङ परिवारको अवस्था पनि दयनीय छ । 

पुराना कपडा र त्रिपालले छेकिएको अँध्यारो झुप्रोमा यहाँका चेपाङहरूले रात बिताउँदै छन् । २०७५ मा अधिकाश चेपाङ कुसुमखोला छाडेर माडीका प्याउली, राईटोल, खरकट्टा र परुईखोलामा आएका थिए । बसाईको सुनिश्चित नभएसम्म आफ्नो जन्म ठाउँ नछाड्ने अडानसहित कुसुमखोलामै बस्दै आएका चेपाङका घरटहरामा भने गत वर्ष ३ साउनमा चितवन राष्ट्रिय निकुञ्जले भत्काइदिएको थियो । निकुञ्जले आगो लगाएर टहरा भत्काएको भन्दै विरोधसमेत भएको थियो ।  निकुञ्जले टहरामा आगो लगाइदिएका दीपबहादुर प्रजा हाल माडी नगरपालिका–७ को देवेन्द्रपुरकोे परुई खोलाको किनारमा बस्दै आएका छन । ‘पहिले जस्तै आफ्नै खेतीपातीबाट जीवन निर्वाह गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । मभन्दा पहिल्यै आएकाले त यहाँ घर र लालपुर्जा पाएका रहेनछन । मैले के पाउँला ’ उनी दुखेसो पोख्छन् । 

अर्का पीडित काजीमान र उनकी श्रीमती नैनीमाया प्रजा भने निकुञ्जले घर आगो लगाएर खरानी बनाइदिए पनि पुनः कुसुम खोलामै फर्किएका छन् । ‘विगतमा ६ कट्ठा जमिन पाइन्छ भनेर फारम पनि भर्न लगाइयो । तर, लालपुर्जाविना खोलाको छेउमा एक कट्ठा दिने भनेको छ । हामी जाँदैनौ बरु यहीँ मर्छौ’ काजीमान प्रश्न गर्छन् ‘कतिपटक कति ठाउँमा गएर सुकुम्बासी बन्ने ?’

‘राज्यले अन्याय गर्यो’
यहाँका चेपाङहरू राज्यले आफुमाथि अन्याय गरेको बताउँछन् । ‘हाम्रो घर आगो लगाएर ध्वंश गरेको सरकारले हाम्रै सामुन्ने ११ दिनमै अस्थायी मन्दिरको मूर्ति बनाएर राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखेको छ’ कमल चेपाङले भने ‘माडी–९ मा राखिएको मूर्तिहरू निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफ्नै खर्चमा बनाएका हुन रे ।’ 

नक्सासमेत पास नगरी अस्थायी रूपमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्न राममन्दिर निर्माण गरिएको छ  । ‘हाम्रो घर बनाउँदा अवरोध गर्ने निकुञ्ज ठुला मान्छेले गर्ने काममा त सहयोग पो गर्ने रहेछ । सरकारले पहिला त हाम्रो घर बनाउनुपर्ने थियो ।’ कमल भन्छन । सरकारले वासको व्यवस्था मिलाइदिए त्यही घरमा मन्दिर बनाएर पूजा गर्ने चेपाङहरूको रहर छ । कमल ‘ईश्वरलाई पक्की मन्दिर बन्दै गर्दा हामीलाई पनि राज्यले जाडोमा न्यानो हुने, झरीमा पानी र गर्मीमा घाम छेक्ने घर बनाईदिए हुन्थ्यो ।’

See More On

सुझावित समाचार