ओमान भ्रमणका लागि खेलाडी थप्ने तयारी

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

नेपाली क्रिकेट टोलीले अर्को महिना ओमानमा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत ग्लोबल छनोट खेलमा सहभागिता जनाउँदै छ । यसअघि नेपालले ओमानमै हुने चार देश सम्मलित टी–२० क्रिकेट सिरिज खेल्नेछ । नेपाल, ओमान, आयरल्यान्ड र युएईबीच चारदेशीय सिरिज हुनेछ ।नेपाल क्रिकेट संघ (क्यान)ले दुवै प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ जना खेलाडी घोषणा गरिसकेको छ । खेलाडीलाई कोरोना संक्रमित हुने डरले क्यानले ओमान भ्रमणका लागि थप खेलाडी थप्ने तयारी गरेको छ । यसबारेमा क्यानले छलफल गरिरहेको छ ।

टोलीमा कतिजना खेलाडी थप गर्ने भन्ने छलफलबाट निर्णय हुने क्यानले जनाएको छ । हाल बन्द प्रशिक्षणमा रहेका टोलीमा कप्तान लामिछानेसहित अन्य खेलाडीमा संक्रमण देखिएको थियो । संक्रमित खेलाडी आइसोलेसनमा छन् । गत साता क्यानले नै आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा कप्तान लामिछानेले नै आफूलगायत केही खेलाडी संक्रमित भएको बताएका थिए ।

मंगलबार ओमान जाँदै
नेपाल टोली मंगलबार ओमानमा जाँदै छ । ओमान भ्रमणमा निस्किनुअघि नेपाली खेलाडीले आइतबार अन्तिमपटक प्रशिक्षण गरेका छन् । नेपालले सिरिजअन्तर्गत ११ फेबु्रअरीमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।१२ फेब्रुअरीमा नेपालको सामना युएईसँग हुनेछ । १४ फेब्रुअरीमा सिरिजको अन्तिम खेलमा नेपालले आयरल्यान्डविरुद्ध खेल्ने कार्यक्रम रहेको छ । त्यसैगरी, विश्वकप छनोटअन्तर्गत नेपालले समूह चरणमा क्यानाडा, आयोजक ओमान र फिलिपिन्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

चारदेशीय सिरिजपछि नेपालले आफ्नो महत्वपूर्ण प्रतियोगिता आइसिसी टी–२० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछ । नेपालले १८ फेब्रुअरीमा आफ्नो पहिलो खेल ओमानविरुद्ध खेल्नेछ । १९ फेब्रुअरीमा नेपाल र फिलिपिन्सबीच खेल हुनेछ । २१ फेब्रुअरीमा नेपालले क्यानडाविरुद्ध खेल्नेछ । मुख्य प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा नेपाल दोस्रोपटक टी–२० विश्वकपमा छनोट हुने तयारीमा जुटेको छ ।

सन् २०१४ मा बंगलादेशमा भएकोे टी–२० विश्वकपमा दासानायकेकै प्रशिक्षणमा नेपाल पहिलोपटक सहभागी भएको थियो । ग्लोबल छनोटको शीर्ष दुई टोलीले यसै वर्षको अन्त्यतिर अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । 

नेपाली टोली
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, प्रदीप ऐरी, सहाब आलम, लोकेश बम, कुशल भुर्तेल, अविनाश बोहरा, करण केसी, कुशल मल्ल, जितेन्द्र मुखिया, आरिफ सेख, आसिफ सेख, शरद भेषवाकर, विवेक यादव

See More On

सुझावित समाचार