लगातार तेस्रो वर्षसम्मको कोरोना संक्रमणले जुम्लाको एक मात्र राडीपाखी उद्योग बन्द भएको छ । महिनाैँदेखि उत्तरी नाका चीन बन्द भएर ऊन आयात हुन नसकेपछि उद्योग बन्द गर्नुपर्ने अवस्था आएको तामाङ झोला तथा राडीपाखी उद्योगका प्रोप्राइटर कुन्जाङ फुटिक तामाङले बताइन् ।
उद्योगमा चिनियाँ भेडाको ऊनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हुँदै आएको थियो । अहिले बजारमा माग धेरै भए पनि कोभिडपछि कच्चा पदार्थ संकलन गर्न नसक्दा उद्योग बन्द गर्नुपरेको उनी बताउँछिन् ।
जुम्ली भेडाको कालो र सेतो ऊनबाट बन्ने सामग्रीको माग उच्च रहे पनि दुई वर्षदेखि उद्योग ठप्प छ । चीनबाट आउने ऊन लामो र नरम हुने भएकाले सामग्री सजिलै उत्पादन हुने उनले बताइन् । तर, जुम्ली भेडाको ऊन छोटो हुने भएकाले अलि झन्झटिलो हुन्छ । उनले भनिन्, ‘माग अत्यधिक छ । कच्चा पदार्थ संकलन हुन सकेको छैन । उद्योग नचल्दा घाटा व्यहोर्नुपरिरहेको छ ।’
चीनको उत्तरी हिल्सा नाका खुलाउन सरकारले पहल नगर्दा कर्णालीको जनजीवनसँगै साना तथा मझौला उद्योग संकटमा परेको उनले बताइन् । उनले थपिन्, ‘गाउँमा परम्परागत तरिकाले राडीपाखी बुन्ने धेरै भएकाले पनि उद्योगका लागि ऊन पाउन मुस्किल छ । चीनको नाका खुलाएर चाँडो कच्चा पदार्थ ल्याउने वातावरण बनाइदिनुपर्छ ।’ चन्दननाथ नगरपालिका–२ निवासी तामाङले लोपोन्मुख राडीपाखी बेचेरै वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आइराखेकी थिइन् ।