पेट्रोल छर्केर जिउँदै आगो लगाइएकी महिलाको मृत्यु

आइतबार, २३ माघ, २०७८
डिजिटल संस्करण

सप्तरीको बोदे बरसाइन नगरपालिका– १ धनगढीमा एक व्यक्तिले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन्। जलेर गम्भीर घाइते भएकी २७ वर्षीया राजकुमारी साहको उपचारका क्रममा गएराति मृत्यु भएको छ।

गत शुक्रबार बिहान २० वर्षीय प्रमेश्वर साहले राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घरमै रोटी पकाइरहेकी राजकुमारीमाथि पेट्रोल छर्केर आगो लगाएपछि जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो। सोही क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ।

राजकुमारीका ३० वर्षीय पति रविनकुमारले आफू कामविशेषले घरबाहिर रहेको समयमा आफ्नै भाइले उनको शरीरमा आगो लगाइदिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

उता, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले प्रमेश्वरको खोजी भइरहेको जानकारी दिएका छन्। ‘सुरुमा आगलागीमा परेर घाइते भएकी बताइए पनि अहिले उनको देवरले नै पेट्रोल छर्केर आगो लगाइदिएको कुरा आइरहेकाले उनको खोजीसँगै थप अनुसन्धान थालेका छौँ,’ उनले भने, ‘शव पनि पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर पठाइएको छ।’

सुझावित समाचार