बेमौसमी वर्षाले रौतहटमा करोडौँ मूल्यको इँटा र बालीमा क्षति

आइतबार, २३ माघ, २०७८
डिजिटल संस्करण

गत बुधबार रातिदेखि परेको पानीले रौतहटमा किसानले लगाएको मुसुरो र तोरी बाली तथा इँटामा क्षति पुर्याएको छ। लगातार दुई दिनसम्म परेको पानीका कारण जिल्लामा मुसुरो र तोरी लगाउने किसान मारमा परेका छन्।

चन्द्रपुर नगरपालिकाको कृषि शाखाका अनुसार नगर क्षेत्रमा किसानले करिब ६५ बिगाहमा मुसुरो र ४० बिघामा तोरी लगाएका छन्। दुवै बालीको उत्पादनमा वर्षाले असर गरेको छ। गत सालको भन्दा चन्द्रपुरमा तोरी र मुसुरो बालीको उत्पादनमा कमी आउने कृषि शाखा चन्द्रपुरका कर्मचारीको भनाइ छ।

यसैगरी वर्षाबाट करिब ४० करोड मूल्यबराबरको क्षति इँटा उद्योगमा भएको रौतहट इँटा उद्योग व्यवसायी संघका अध्यक्ष विनोद जयसवालको दाबी छ। उनका अनुसार १५ करोडको मात्र काँचो इँटा सखाप भएको छ। जिल्लामा एक सय ६२ इँटा उद्योग रहेका छन्।

इँटा उद्योगबाट सरकारले ठूलो मात्रामा कर असुल गरिरहेको भए पनि उद्योगको बिमा गर्ने प्रणाली विकास नगरेकाले इँटा उद्योगले बर्सेनि ठूलो क्षति व्यहोर्दै आएको उद्योगीहरू बताउँछन्। सामान्य वर्षाका पनि इँटामा दाग पर्न जाने र इँटाको मूल्य कम हुन जाने हुन्छ।

सुझावित समाचार