सन् २००० देखि हरेक वर्ष ४ फेब्रुअरीमा विश्व क्यान्सर दिवस मनाउन थालिएको हो । यस वर्ष पनि ‘उपचारको खाडललाई बन्द गराऊ’ (क्लोज द केयर ग्याप) भन्ने नाराका साथ क्यान्सर दिवस मनाइँदै छ । यसै सन्दर्भमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका निवर्तमान कार्यकारी निर्देशक एवं गाइनोकोलोजिस्ट डा. विजयचन्द्र आचार्यसँग क्यान्सर रोग र यसको उपचारको वर्तमान अवस्था बारे नयाँ पत्रिकाका विवेक पोख्रेलले गरेको कुराकानी :
क्यान्सर (अर्बुद रोग) हुनुका सबै कारण प्रमाणित छैनन् । यद्यपि, मानिसको शरीरका विभिन्न भागमा कोषहरू मर्ने र असामान्य रूपमा ती कोष वृद्धि हुन थालेपछि त्यसले क्यान्सर पैदा गर्छ । यो बदलाव वंशानुगतसँगै जीवनशैली र संक्रमणका कारणसमेत हुन सक्छ ।
सुर्तीजन्य पदार्थको सेवन, प्रदूषित वातावरण, विकिरण, खानपान आदिले क्यान्सर बढाउनमा मद्दत गर्छ । हामीले चाहने हो भने वंशानुगतबाहेकका अन्य क्यान्सरहरूबाट सहजै बच्न सक्छौँ । अध्ययनहरूले पनि ३० देखि ४० प्रतिशत क्यान्सर हामीले नै रोक्न सक्ने पुष्टि गरेका छन् । स्वच्छ जीवनशैली अपनाउने, आहारविहारमा ख्याल गर्ने, शारीरिक व्यायाम गर्ने, मद्यपान र धूम्रपान तथा सुर्तीजन्य वस्तु सेवन नगर्ने, बोसोयुक्त मासु नखाने, तारेको÷पोलेको खाना नखाने, नुन तथा पुराना अचार कम खाने, नियमित स्वास्थ्य परीक्षण गराउने, सरसफाइमा ध्यान दिने हो भने क्यान्सर रोगको जोखिम निकै कम हुन्छ ।
क्यान्सर हुनु भनेको जीवनको अन्त्य हुनु होइन । यो केवल एउटा रोग मात्रै हो । हामीले बुझ्नु र बुझाउनुपर्ने कुरा के हो भने धेरैजसो क्यान्सर समयमै उपचार गरे पूर्ण निको हुन्छ । उपचारपछि क्यान्सरलाई जितेका कैयौँ व्यक्ति हाम्रो आसपासमा छन् । जसले क्यान्सरको उपचारपश्चात् पनि सहज जीवनयापन गरिहेका छन् । अस्पतालमा समयमै आएर उपचार गरेका पाठेघरको मुखको क्यान्सर, मुखको क्यान्सर, ब्लड क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर, बोनम्यारो क्यान्सर, घाँटीको क्यान्सर, कलेजोको क्यान्सर, डिम्बाशयको क्यान्सर निको बनाएर पठाएका छौँ । तर, समयमै उपचार भने सुरु गर्नुपर्छ ।
क्यान्सरको सुरुको अवस्था व्यक्ति आफैँले पत्ता लगाउन सक्दैन । लक्षणहरू देखिइसकेपछि उपचारमा आउँदा ढिला हुन्छ । तसर्थ, शरीरमा कुनै समस्या हुँदा विज्ञ चिकित्सकहरूसँग परामर्श लिने र छिटै जँचाउन जानु उत्तम विकल्प हो । बिरामी भएपछि मात्रै उपचार गर्ने बानी त्याग्नुपर्छ ।
क्यान्सरका सुरुवाती लक्षण
शरीरको कुनै ठाउँमा फोको वा गाँठो देखा पर्नु, अचानक शरीरको कुनै भागबाट रगत बग्नु, छालामा असामान्य बदलाव आउनु, भोक कम लाग्नु, बढी खोकी लग्नु, क्यान्सरका सामान्य लक्षण हुन् । क्यान्सर बिस्तारै फैलँदै जान्छ । जुन–जुन अंगमा स¥यो, त्यही अंगमा असर देखाउँछ । जसले गर्दा बिरामी बेहोस हुने, पक्षघात हुने, अंग नचल्ने समस्या हुन सक्छ । यस्तै, फोक्सोमा गए खोकी लाग्ने, फोक्सोमा पानी जम्ने, स्वाँस्वाँ हुने हुन्छ । जुन क्यान्सरको चौथो चरण हो ।
विकसित देशका ९० प्रतिशत उपचार पहुँचमा
विकसित देशमा ९० प्रतिशत मानिस क्यान्सर उपचारको पहुँचमा छन् । हाम्रो जस्ता देशमा १५ प्रतिशत मानिस पनि पहुँचमा आउन सक्ने अवस्था छैन । स्वास्थ्य र क्यान्सर रोगसम्बन्धी जानकारीको कमी, सामाजिक आर्थिक रूपमा स्वास्थ्य सेवा पहुँचबाहिर हुनु, भौगोलिक विषमता, सांस्कृतिक अड्चन, लैंगिक विभेद र जनशक्ति अभावका कारणले क्यान्सर रोकथाम गर्न सकिएको छैन ।
नेपालमा पनि विदेशमा जत्तिकै क्यान्सर उपचार गर्ने स्तरीय अस्पताल छन् । तर, धेरैलाई नेपालमा क्यान्सरको पूर्ण उपचार हुन्छ भन्ने विश्वास छैन । बिरामीले अस्पताल वा चिकित्सकलाई विश्वास गरेका छैनन् वा चिकित्सक र अस्पतालहरूले बिरामीलाई विश्वास दिलाउन सकेका छैनन् । दुवै पक्षबाट कमजोरी भएको हुन सक्छ । यही कारण सामान्य उपचारका लागि पनि बिरामी छिमेकी देशमा जान्छन् ।
कोभिडका कारण क्यान्सर उपचार प्रभावित
यस वर्षको नाराले हाम्रा क्यान्सर अस्पतालहरूलाई नै जिस्काएको छ । ‘उपचारको खाडललाई बन्द गराऊ’ भन्ने नारा भए पनि कोरोना महामारीका कारण क्यान्सर उपचारसमेत प्रभावित भइरहेको छ ।
हाम्रै अस्पतालमा पनि गत वर्ष ओपिडीमा कोभिडका कारण ४०–४५ प्रतिशत बिरामी घटे । कोभिडका कारण बिरामी आएनन् वा अस्पतालले सेवा दिन सकेन, त्यो आफ्नो ठाउँमा छ । तर, बिरामी र उपचारबीच झन् ठूलो खाडल पैदा भएको छ । यसले पछि समस्या ल्याउँछ । कोभिडले क्यान्सरका बिरामी र अस्पतालको दूरी बढाएको छ ।