लमजुङका सात स्थानीय तहले आर्थिक वर्ष ०७७/०७८ को जलविद्युत् रोयल्टीबापतको रकम पाएका छन् । लमजुङका सात पालिकाले आर्थिक वर्ष ०७७/०७८ को दुई करोड ९० लाख ९६ हजार रोयल्टी पाएका हुन् । महालेखा नियन्त्रकको कार्यालयका अनुसार वर्षमा सबैभन्दा धेरै विद्युत् रोयल्टी जिल्लाको मर्स्याङ्दी गाउँपालिकाले पाएको छ ।
मर्स्याङ्दी गाउँपालिकाले एक करोड ४९ लाख २१ हजार रोयल्टी पाएको छ । जिल्लाको सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिकाले ७१ लाख ९३ हजार पाएको छ भने सुन्दरबजार नगरपालिकाले ३९ लाख २१ हजार पाएको छ । त्यसैगरी, जिल्लाको दोर्दी गाउँपालिकाले १४ लाख २५ हजार, क्व्होलासोँथार गाउँपालिकाले आठ लाख नौ हजार रोयल्टी पाएको छ ।
राइनास नगरपालिकाले पाँच लाख ६३ हजार पाएको छ भने विद्युत् रोयल्टी प्राप्त गर्ने पालिकामध्ये मध्यनेपाल नगरपालिकाले सबैभन्दा कम दुई लाख ६१ हजार पाएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले प्राकृतिक स्रोतको रोयल्टीको बाँडफाँड गर्दा संकलित रकममध्ये ५० प्रतिशत संघ तथा प्रदेश र स्थानीय तहलाई २५/२५ प्रतिशत दिने व्यवस्था गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गण्डकी प्रदेशले २२ करोड ८५ लाख १९ हजार पाएको छ । देशभरका एक सय २० वटा पालिकाले जलविद्युत् रोयल्टीबापत ७० करोड ६७ लाख १७ हजार पाएका छन् ।