कार्यदलको अध्ययनपछि मात्रै एमसिसीको विषय अघि बढ्छ : भुसाल

बुधबार, १९ माघ, २०७८
डिजिटल संस्करण

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसिसीको विषय अघि बढ्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भुसालले एमसिसीलाई लिएर सत्तारुढ गठबन्धनमा भएका मतभेद कार्यदलको निस्कर्षपछि समाप्त हुने बताएका हुन् । 

उनले स्थानीय चुनावको विषयलाई लिएर गठबन्धनमा कुनै विवाद नभएको पनि बताए । भुसालले एमसिसीबारेका ९ वटा दस्ताबेजको बारेमा कार्यदलले गम्भीर अध्ययन गरिरहेको  बताए । उनले एमसिसी स्थानीय निर्वाचनको एक एजेन्डा भएको भन्दै चुनावको सबै एजेन्डा एमसिसी मात्रै भएको तर्क गर्नुनहुने बताए । भुसालले एमसिसीले देशलाई फाइदा नगर्ने हो भने पास गर्नु नहुने भन्दै एमसिसीको सबै दस्ताबेजहरूको बारेमा कसैले पनि पूरा अध्ययन नगरेको बताए । 

उनले भने, ‘गठबन्धनको मात्रै होइन, भविष्य कसैको पनि भन्न सकिँदैन । भविष्य वक्ताहरूले गरेको भविष्य पनि काम लाग्दैन । आजको स्थिति भन्ने हो भने चुनावको विषयलाई लिएर कुनै पनि खालको विवाद गठबन्धनमा भएको छैन । हामीले सहमतिमा नै स्थानीय तहको चुनाव जेठमा गरौँ भनेर टुंगो गरेका हौँ । एमसिसीका बारेमा केही मतभेद छन् । त्यसमा हामी अहिले पनि अध्ययनमा छौँ । एमसिसीसँग सम्बन्धित ९ वटा दस्ताबेज दुई, तीन महिनाअघि मात्रै हामीले गठबन्धनबाट बनाएको कार्यदलले प्राप्त गरेको छ । अहिले ती दस्ताबेज अध्ययन गर्दै हुनुहुन्छ । त्यो अध्ययनपछि उहाँहरूले एउटा निष्कर्ष ल्याउनुहुन्छ । त्यसैअनुसार हामी जान्छौँ । एमसिसी एउटा चुनावी एजेन्डाको विषय हो । त्यो मात्रै चुनावको विषय हुन्छ जस्तो लाग्दैन । सीधै समर्थन र विरोधभन्दा पनि हामीले खासमा अलि गहिरो गरेर यसको अध्ययन गरौँ भन्ने हो । यसले राष्ट्रलाई फाइदा छ कि बेफाइदा छ ? फाइदा भए गर्ने हो बेफाइदा भए किन गर्ने ? अहिलेसम्म साँच्चै भन्ने हो भने सबै दस्ताबेज त कसैले अध्ययन गरेकै छैन । जसले पक्ष वा विपक्षमा बोलेको छ । ती ९ वटा दस्ताबेज त अहिले न बाहिर आए । ९ वटा रहेछन् भन्ने कुरा पनि बल्ल जानकारी भयो । अरू पनि छन् कि थाहा छैन, यस्तै भएको कारणले यो विषय अलि पेचिलो बन्दै गएको हो ।’

सुझावित समाचार