इजरायलद्वारा पाँच लाख ६३ हजार थान सिरिन्ज हस्तान्तरण

मंगलबार, १८ माघ, २०७८
डिजिटल संस्करण

इजरायलले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई पाँच लाखभन्दा बढी सिरिन्ज प्रदान गरेको छ। नेपालका लागि इजरायलका राजदूत हनान गोडरले हवाईमार्गबाट ल्याइएका पाँच लाख ६३ हजार थान सिरिन्ज मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।

‘यो सहयोग महामारीविरुद्धको अन्तर्राष्ट्रिय संघर्षको एक हिस्सा हो। महामारीविरुद्धको नेपालीको प्रयासमा सहयोग गर्न पाउँदा इजरायल गर्व गर्छ’, सिरिन्ज हस्तान्तरण गर्दै राजदूत गोडरले भने। नेपाल सरकारको सन् २०२२ को खोप लक्ष्य पूरा गर्न तथा  महामारीलाई नियन्त्रणमा ल्याउन इजरायलले दुई राष्ट्रबीचको ऐक्यबद्धताको संकेतका रूपमा नेपालका जनतासँग मानवीय सहायता बाँड्न पाएकामा उनले खुसी व्यक्त गरे।

विगत दुई वर्षदेखि इजरायल सरकारले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई सहयोग गर्दै आएको छ। यहाँस्थित इजरायली दूतावासले २०२० जुन महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण, मास्क, डिजिटल थर्मोमिटर, सर्जिकल ग्लोभ्स, स्यानिटाइजर, कीटाणुनाशक साधनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो। रासस

सुझावित समाचार