तत्काल दूधको मूल्य नबढे किसानले आन्दोलन गर्ने

सोमबार, १७ माघ, २०७८
डिजिटल संस्करण

चितवनका किसानहरुले दूधको मूल्य तत्काल नबढे आन्दोलन गर्ने बताएका छन् । दूधमा आत्मनिर्भर जिल्ला चितवनका किसानहरुले आइतबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेको पनि आलटाल भएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

सरकारी रकम खर्चर गरेर दूधको मुल्य बढाउने विषयमा महिनाैं लगाएर अध्ययन भयो, समितिले मुल्य बढाउन सिफारि पनि गरेको छ केन्द्रीय दुग्ध सहकारी संघका सदस्य भागीरथ तिमल्सिनाले भने, ‘मन्त्रालयले दुग्ध विकास संस्थालाई सहमति दिने प्रक्रिया छोडेर फेरि मन्त्रिपरिषद्बाट मुल्य बढाउने भनिएको छ । पहिला कृषि मन्त्रालयबाट हुने निर्णय रोकेर अहिले मन्त्रिपरीषद्ले नै निर्णय गर्ने भनेर किसानलाई अलमल्याउन खोजेको छ ।’ बोर्डको प्रस्तावित प्रतिवेदन अनुसार एक लिटरमा १० रुपैँया मुल्य वृद्धि गर्ने भनिएको छ । बढेको १० रुपैयाँमा ७ रुपैयाँ किसानलाई र तीन रुपैयाँ उद्योगीका लागि हुने छ । 

तीन  वर्षदेखि दूधको मुल्य बढेन, मुल्य नबढे आन्दोलनको नेतृत्व चितवनले लिने 
दुधको मुल्य तीन वर्षदेखि बढेको छैन । ३ वर्षको बीचमा दाना चोकरको मुल्य झण्डै दुईगुनाको दरले वृद्धि भएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले बताए । आज भन्दा तीन वर्षअघि प्रति केजी २२ रुपैयाँ र दाना २५ रुपैयाँ थियो । हाल चोकरर दाना दुबैको मुल्य ४० रुपैयाँ प्रति केजी पुगेको छ । १५ हजारमा पाइने एक ट्याक्टर परालको मुल्य अहिले २५ हजार रुपैयाँ बढि पर्छ । उपभोग्य वस्तुमा १० देखि १५ प्रतिशत मुल्य वुद्धि भएको छ । पशुपालन गर्दा अवश्यक पर्ने हरेक चिजको लागत बढ्दो क्रममा भएपनि दूधको मुल्य उहि नै रहँदा किसानहरु व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको उनी बताउँछन् । 

६ फ्याट, ३.१९ एस.एन.एफ हुँदा टि.यस. ३२.७५ पैसा प्रतिलिटर दुग्धको मुल्य ५२.५२ पैसा प्रति लिटर दुग्धको मुल्य किसानले प्राप्त गर्छन् । पशुआहारको मुल्य बढ्दा एक लिटर दुधको उत्पादन खर्च ६३ रुपैयाँ पर्ने बगाले बताउँछन् । हामीले २० रुपैँया प्रतिलिटर दूधको मुल्य बढाउन माग गरेका थियौँ । किसानको अपेक्षा भन्दा कम रकम पनि बढाउन कृषी मन्त्रालयले ढिलो गरेको उनले बताए । उपभोक्ताले प्रयोग गर्ने दाल, चामल, तेलको मुल्य बढ्दा मौन बस्ने उपभोक्ता अधिकारकर्मी दूधको मुल्य बढाउने कुरामा अवरोध गर्न खोजेको प्रति पनि उनले खेद व्यक्त गरे ।  

कृषि तथा पशुपन्छी विकास मन्त्रालय संग दूधको मुल्य कहिले र कति बढ्छ भन्ने जवाफ छैन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष रत्नमणि न्यौपानेले १ माघदेखि दूधको मूल्य बढाउने भनेको भएपनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताउँछन् । अबको एक हप्तामा पनि दूधको मुल्यमा नबढेमा सडक प्रदर्शन लगायतका विरोध कार्यक्रम तयार गरेको उनले बताए । 

कोरोना र मुल्यका कारण किसान विस्थापित 
पहिलो चरणको निषेधाज्ञामा करिब ४५ दिन र दोस्रो चरणको निषेधाज्ञामा ३५ दिन दूध विक्रि ठप्प भएको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य बालकृष्ण उप्रेती बताउँछन् । ‘दुध बिक्रि नभएपछि नष्ट गर्नु परेका किसानहरुलाई राज्यले प्रतिलिटर १० रुपैँया सहयोग गर्ने भनेको थियो तर भएन । लागत अनुसारको मुल्य पाइँदैन, पशुआहाराको लागि भारतीय बजारमा भर पर्नुपर्ने सँगै राज्यको लगानी कमजोर भएको यो समयमा पशुपालक किसानहरु पेशाबाट विस्थापित भएका छन्’उनले भने ।  चितवनमा ६३ प्रतिशत दुग्ध उत्पादक किसानहरु छन् । दुधालु गाई र भैसीको संख्या ६८ हजार ६ सय ११ छ । जस बाट दैनिक २ लाख ९० हजार लिटर दूध उत्पादन हुन्छ । 
 

See More On

सुझावित समाचार