स्थानीय तहको निर्वाचनको मिति तोक्न माग गर्दै एमाले आन्दोलनमा

सोमबार, १७ माघ, २०७८
डिजिटल संस्करण

संविधान र लोकतन्त्र समाप्त पार्ने डिजाइनअन्तर्गत पाँचदलीय गठबन्धन सरकारले चुनाव सार्न खोजेको आरोप लगाउँदै प्रमुख विपक्षी दल एमालेले पहिलो चरणको दबाबमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

एमालेको २२ जनवर्गीय संगठनहरू आबद्ध मोर्चा संयन्त्रको शनिबारको बैठकले स्थानीय तहको चुनाव घोषणाका लागि सोमबारसम्म सरकारलाई अल्टिमेटम दिँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार र सोमबारभित्र जिल्लाहरूमा समय तय गरेर जिल्ला सदरमुकाम कार्यालय घेराउ र ज्ञापनपत्र बुझाउनेसहितका कार्यक्रम एमालेले सार्वजनिक गरेको छ ।

एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले सोमबारभित्र स्थानीय तहको निर्वाचन घोषणाको मुख्य माग राखेर सबै जिल्ला सदरमुकाम घेराउ र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइने बताए । ज्ञापनपत्रमा कोभिड महामारी नियन्त्रणमा सरकारले देखाएको उदासीनता, अर्थतन्त्रको समस्या, भ्रष्टाचार, महिला हिंसा र किसानहरूमाथिको दमनलगायत विषय पनि समेटिने उनले जानकारी दिए । 

त्यस्तै, काठमाडौंको हकमा २२ वटै जनवर्गीय संगठनका तर्फबाट प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ । सोमबार स्वास्थ्य प्रोटोकललाई ध्यान दिँदै माइतीघर मण्डला क्षेत्रमा ब्यानरसहित मोर्चा संगठनमा आबद्ध जनवर्गीय संगठनहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् । 

पोलिटब्युरो सदस्य बस्नेतले सोमबारभित्र सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगरे देशभर आन्दोलनको आँधीबेहरी सिर्जना गरिने चेतावनी दिए । ‘पहिलो चरणमा दुई दिन आन्दोलनको कार्यक्रम गर्दै छौँ, त्यसैले सोमबारभित्र सरकारले चुनाव तोक्नुपर्छ भन्ने हाम्रो माग हो,’ बस्नेतले भने, ‘अन्यथा, देशभर व्यापक जनसहभागितामा आन्दोलनको आँधीबेहरी सिर्जना गरेर लोकतन्त्र र संविधान बचाउन चुनाव घोेषणा गराउन सरकारलाई बाध्य पार्नेछौँ ।’

मोर्चा संगठनको बैठकमा सचिव योगेश भट्टराई, संयन्त्र प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य बस्नेत, केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालसहितका नेताहरू सहभागी थिए । बैठकले निर्वाचनको परिणाममा पराजित हुने भयले निर्वाचन सार्ने षड्यन्त्र भइरहेको ठहर गर्दै त्यस्तो षड्यन्त्र कुनै अमूक दलको हारजितको सवालभन्दा पनि संविधान र लोकतन्त्र समाप्त पार्ने डिजाइनअन्तर्गत अगाडि बढेको गम्भीर आशंकासमेत गरेको छ । 

मोर्चाले राष्ट्रपति विद्या भण्डारीसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझावको नोट सार्वजनिक गरेर राष्ट्रपतिजस्तो राष्ट्रप्रमुखसँगको भेटवार्ताको गोपनीयता र मर्यादासमेत जोगाउन नसकेकोमा खेद व्यक्त गरेको छ । साथै, बैठकले गोपनीयता जोगाउन नसक्नुमा प्रधानमन्त्रीमा केटाकेटीपन देखिएको र गठबन्धनका नेताहरूले अनावश्यक प्रोपोगान्डा गरेको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ । 

संविधानमा स्थानीय तह कार्यपालिकाका रूपमा गठन भइसकेपछि गाउँसभा (गाउँ व्यवस्थापिका)लाई पूर्णता दिन केही सदस्य मनोनयन गर्नुपर्ने व्यवस्था रहेको र त्यस्ता सदस्यहरूको मनोनयनसमेत बढीमा ६ महिनाभित्र सकेर गाउँसभा र नगरसभा गठन गरी पूर्णता दिइसक्नुपर्ने संविधानको व्यवस्थालाई गलत ढंगले गठबन्धनले अपव्याख्या गरेको एमालेको आरोप छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा सम्पन्न बैठकमा २२ वटै जनवर्गीय संगठनका इन्चार्ज र प्रमुखहरू सहभागी थिए । 

अनेरास्ववियुकी अध्यक्ष सुनीता बरालले चुनाव घोषणा नभए विद्यार्थीहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएकी छन् । ‘अनेरास्ववियु तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन वर्तमान सरकारसमक्ष जोडदार माग गर्दछ । अन्यथा, लाखौँ विद्यार्थीलाई लोकतन्त्र बचाउने लडाइँमा पुनः एकपटक सडकमा उतार्न हामी बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं परमादेशबाट बनेको वतर्मान सत्तागठबन्धन हुने चेतावनी दिन चाहन्छ,’ बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनको मिति माग गर्दै युवा संघको प्रदर्शन

रौतहट : स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणाको माग गर्दै रौतहटमा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको भन्दै युवा संघले आइतबार गरुडा बजारमा सरकारविरुद्ध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित कोणसभामा एमाले जिल्ला उपसचिव रुपेश पटेलले सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे आन्दोलन अझ सशक्त पार्ने बताए । 

सुझावित समाचार