शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी मेडिकल कलेजहरूले दादागिरी देखाएको भन्दै उनीहरूमाथि तत्काल कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणसमक्ष आग्रह गरेका छन् । शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरूसँग छलफल गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान नभए निजी मेडिकल कलेजमा विद्यार्थीहरूले पढ्न पाउने अवस्था गुम्ने चेतावनी पनि दिए ।
शिक्षामन्त्री पौडेलले भने, ‘कलेज सञ्चालकहरूको भाषा, शैली र तरिकाका कारण यस्तो स्थिति सिर्जना भयो । यसमा शुल्कको कुरा, छात्रावासको कुरा पनि चिकित्सा शिक्षा आयोगको ऐनविपरीत मेडिकल सञ्चालकहरूले गरिरहेका छन् । उनीहरूले मेडिकल कलेज पढने विद्यार्थीहरूमाथि दादागिरी देखाइरहेका छन् । उनीहरूमाथि तत्काल कारबाही गर्नुपर्छ । अन्यथा कुनै पनि विद्यार्थीहरूले मेडिकल कलेज पढ्न सक्ने अवस्था हुँदैन ।’