खैरहनी नगरपालिकाको दुर्गा मन्दिर टोलकी गीता चौलागाईं पशुचिकित्सकको टोली औषधिसहित घरमा आउँदा छक्कै परिन् । उनको गोठमा रहेको तीनवटामध्ये दुईवटा गाईको मुख तथा गिजामा पानीफोका र घाउ थियो । जिब्रोमा पनि सामान्य घाउ देखिन्थ्यो । उनीहरूले चिसोको समय भएकाले गाईलाई कुँडोपानी तताएर दिन्थे ।
चिकित्सक पुग्दासमेत उनीहरूलाई थाहाँ थिएन गाईलाई खोरेत भएको छ । हामीलाई त लागेको थियो, तातो पानीले पोलेकाले गाईको मुखमा घाउ भएको हो कि भन्ने, स्थानीय भेटनरीबाट ल्याएको औषधि देखाउँदै कृषक चौलागाईंले चिकित्सकलाई भनिन्, ‘तातो पानीले पोल्यो कि भन्ने शंकाले हामीले यो औषधि चलाएका थियौँ ।’
चार दिनदेखि गाई बिरामी भएको र दूध दिन छाडेको सुनिसकेपछि भेटनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र चितवनका निमित्त प्रमुख कार्यकारी डा. प्रभात न्यौपानेले परीक्षण गरी औषधिका बारेमा जनकारी गराए ।
छिमेकीकोमा चिकित्सक आएको देखेपछि खैरहनी–६, सर्तनीका अर्जुन बस्ताकोटीले पनि आफ्नो गाईका बारेमा पशुचिकित्सकलाई जानकारी गराए । दुई हप्ताअघि खोरेत देखिएपछि उनले स्थानीय पशुचिकित्सकलाई देखाएर उपचार गराएका रहेछन् । ‘पहिले नै जानकारी भएको भए निःशुल्क उपचार हँुदो रहेछ,’ बस्ताकोटीले भने, ‘ढिलो भए पनि विज्ञ चिकित्सकहरू गोठमानै अएर पशुको अवस्था हेर्नुभयो, ढुक्क भयो ।’
बिहीबार दिनैभरि विज्ञकेन्द्रको यो टिम पूर्वी चितवनका विभिन्न गाउँमा खोरेत रोगसहित पशु स्वास्थ्य सचेतनामा व्यस्त रह्यो । जिल्लामा पछिल्लोमा समय खोरेत भएका पशुको संख्या बढेको छ । ‘खोरेत देखिएपछि के–के उपचार गर्ने भन्ने जानकारी दिन र अवस्था बुझ्न हामी फिल्डमा नै गएका आएका हौँ,’ प्रमुख न्यौपानेले भने । उनका अनुसार जिल्लाकामा गाई, भँैसी, बंगुरलगायतमा खोरेतको संक्रमण देखिएको छ । बितेका पाँच महिनामा मात्र चितनका करिब आठ हजार पशुमा यो रोग देखिएको र एक सय गाईभैँसी र नौ सय बंगुरको मृत्यु भएको अनुमानित तथ्यांक उनीसँग छ । न्यौपानेले भने, ‘खोरेतले प्रत्यक्ष रूपमा दूध उत्पादन घटेको देखिन्छ ।’ खोरेतका कारण दैनिक पाँच हजार लिटर दूध उत्पादन कम भएको उनी बताउँछन् । सचेतनासँगै निःशुल्क रूपमा खोरेतविरुद्धको खोप अभियान पनि आफूहरूले सञ्चालन गरेको उनले बताए ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर बगालेका अनुसार चितवनमा ६८ हजार ६ सय ११ दुधालु गाई र भैँसी छन् । जसबाट दैनिक तीन लाखभन्दा बढी लिटर दूध उत्पादन हुन्छ । चितवन जिल्ला दूधमा आत्मनिर्भर जिल्ला पनि हो । जिल्लामा खोरेतका कारण बर्सेनि उत्पादनमा असर पर्ने गरेको भन्दै नीतिगत रूपमा नै राज्यले खोरेत नियन्त्रणमा चासो देखाउनुपर्ने उनी बताउँछन् ।
के हो खोरेत ?
पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यका अनुसार खोरेत खुरफट्टा जनावरहरूमा लाग्ने अति छिटो सर्ने पिकोर्ना जातिको विषाणुबाट सर्ने सरुवा रोग हो । पशुमा ज्वरो आउने, र्याल चुहाउने, लंगडाउने, दुधालु गाईभैँसीको दूध उत्पादन घट्ने, मुख–खुरको कापको साथै थुतुनो र थुनमा पानीजस्तो तरल पदार्थ भरिएका स–साना फोकाहरू देखिएमा खोरेत हुन सक्छ । यो समयमा पशुले खान मन गर्दैन ।
खोरेत रोग लागेको जनावरसँग सम्पर्क भएमा वा दूषित दाना, पानी र हावाका माध्यमबाट महामारीका रूपमा फैलने गर्छ । खोरेत देखिएमा उक्त पशुको छुट्टै स्याहार गर्नु राम्रो हुन्छ । यो रोगका कारण अन्यको तुलनामा बाच्छाबाच्छी, पाडापाडी र बंगुरका पाठापाठीहरू अत्यधिक संख्यामा मर्ने गर्छन् । यसका लागि जैविक सुरक्षामा ध्यान दिनुपर्ने डा. आचार्य बताउँछन् ।