निजी मेडिकल कलेज सञ्चालक सुनील शर्मालाई मोसो लगाएको विरोधमा एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले विरोध जनाएको छ । मेडिकल शिक्षाका विद्यार्थीबाट अतिरिक्त शुल्क मागेको र होस्टेल शुल्कसमेत चर्को लिएको विरोधमा आन्दोलनरत विद्यार्थीले शुक्रबार शर्मालाई शिक्षा मन्त्रालयमा मोसो दलेका थिए ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसुरिद्दिन अन्सारीले शनिबार विज्ञप्ति जारी गरी निजी क्षेत्रको धैर्यताको बाँध फुटेको र शैक्षिक संस्थामा ताला लगाएर सरकारलाई चाबी बुझाउने चेतावनी दिएका छन् । ‘निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको अवस्थामा अब हाम्रा सबै मेडिकल कलेजमा ताला लगाउनुको विकल्प देखिएन । तसर्थ, कोरोना भाइरसको तेस्रो चरणको महामारी सन्निकट रहेको समयमा हामीले हाम्रा स्वास्थ्य संस्थाहरूमा ताला लगाएर चाबी सरकारलाई बुझाउने परिस्थिति सिर्जना नहोस् ।’
एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका महासचिवसमेत रहेका शर्मामाथि सिंहदरबारभित्रै भएको दुव्र्यवहारमा संलग्नलाई कडा कारबाहीको माग गरिएको छ । शर्मा सञ्चालक रहेको नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा अतिरिक्त शुल्क मागेको र होस्टेलको शुल्क निकै चर्को भएको भन्दै पीडित विद्यार्थी तथा विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका छन् । शुक्रबार शिक्षा मन्त्रालयमा भएको सरोकारवालासहितको बैठकमा शर्माले फरक मत राखेका थिए ।