हुलाक सेवाको महसुल दोब्बरसम्म बढ्यो

शुक्रबार, ३० पुष, २०७८
डिजिटल संस्करण

सरकारले हुलाक सेवाको महसुलदर दोब्बरसम्म बढाएको छ । नेपाल हुलाक सेवा ऐन, २०१९ ले दिएको अधिकार प्रयोग गरी सरकारले आन्तरिक महसुल, विविध महसुल, पुलिन्दा महसुल, द्रुत डाँक सेवा महसुल र वैदेशिक हुलाक महसुल बढाएको हो । 

महसुल वृद्धि नभएको लामो समय भएकाले अहिले बढाइएको हुलाक सेवा विभागका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । ‘यसअघि तीन–चार वर्षमा महसुल परिवर्तन हुन्थ्यो । तर, पछिल्लोपटक ०७२ यता हेरफेर भएको थिएन,’ भट्टले भने, ‘६ वर्षपछि महसुल हेरफेर गरेर राजपत्रमा प्रकाशित भएको छ, १ माघबाट लागू हुन्छ ।’ त्यसअघि ०६८ मा हुलाक सेवाको महसुल हेरफेर भएको थियो ।

आन्तरिक हुलाक महसुलमा कुन शीर्षकमा कति बढ्यो ?
स्वदेशमै २० ग्राम तौलसम्मको चिठीपत्र पठाउँदा आठ रुपैयाँ महसुल लाग्दै आएको थियो । अब १ माघबाट दुई रुपैयाँ बढेर १० रुपैयाँ कायम हुनेछ । त्यसपछि प्रत्येक १० ग्राम वा अंशमा लाग्ने महसुल पाँच रुपैयाँ यथावत् राखिएको छ । हुलाकपत्र तीन रुपैयाँबाट बढाएर पाँच रुपैयाँ कायम गरिएको छ । हुलाकपत्र र छापा हुलाकपत्रको शुल्क बढाएर १०–१० रुपैयाँ बनाइएको छ । यसअघि यी दुवै शीर्षकमा क्रमशः पाँच र सात रुपैयाँ महसुल थियो । 

५० ग्रामको प्याकेट पठाउँदा १० रुपैयाँ लाग्दै आएकामा अब दोब्बर बढाएर २० रुपैयाँ कायम भएको छ । पत्रपत्रिका एक जिल्लाबाट अर्काे जिल्लामा पठाउँदा एक सय रुपैयाँ लाग्दै आएकामा अब दुई सय कायम भएको छ । 

 सरकारले विविध महसुलदर शीर्षकमा पनि शुल्क बढाएको छ । जसअनुसार तीनवटासम्म वस्तुको हुलाक दाखिला निस्सा पाँच रुपैयाँ लाग्दै आएकामा बढाएर १० कायम गरिएको छ । रजिस्टरी शुल्क पनि २० बाट बढाएर ३० रुपैयाँ कायम भएको छ । हुलाक वस्तुको ठेगाना बदल्नुपरेमा ३० रुपैयाँ लाग्नेछ । यसअघि २० रुपैयाँ थियो ।

पार्सल पठाउँदा न्यूनतम दुई सय
सामान्य प्याक गरेका वस्तु पुलिन्दा (पार्सल) स्वदेशभित्र पठाउँदा यसअघि न्यूनतम ३० रुपैयाँ महसुल थियो । तर, अब एक सय ७० रुपैयाँले बढाएर दुई सय रुपैयाँ कायम भएको छ । पुलिन्दा न्यूनतम दुई किलोग्रामबाट सुरु हुन्छ । त्यसपछि प्रत्येक आधा केजीमा ५० रुपैयाँ थप महसुल लाग्नेछ । 

तर, सरकारले दुर्गम क्षेत्र घोषणा गरेका जिल्लाबाट सुगममा पार्सल पठाउँदा भने केही सहुलियत दिइएको छ । दुई किलोग्रामबाट सुरु हुने पार्सलको शुल्क एक सय ९० र त्यसपछि हरेक आधा केजीमा लाग्ने अतिरिक्त शुल्क ४० रुपैयाँ कायम गरिएको छ । 

पार्सल हवाई सेवामार्फत पठाउँदा भने शुल्क अझ बढी लाग्नेछ । यसअघि ३० रुपैयाँ शुल्क रहेकामा अब दुई सय ३० रुपैयाँ कायम भएको छ । त्यसपछि हरेक आधा केजी तौलमा एक सय रुपैयाँ लाग्नेछ । हवाई सेवामार्फत पार्सल (दुर्गमबाट सुगममा पठाउँदा) भने दुई सय रुपैयाँ महसुल कायम भएको छ ।

द्रुत डाँक एकैदिनमा, शुल्क पनि ह्वात्तै बढ्यो
प्रवक्ता भट्टका अनुसार द्रुत डाँक सेवा नियमित चिठीपत्रभन्दा चाँडै प्राप्त हुन्छ । सामान्य चिठीपत्र गाउँ पुग्न हप्ता दिनसम्म पनि लाग्न सक्छ । तर, द्रुत डाँक सेवा एकैदिनमा पनि पुग्छ । 

द्रुत डाँक सेवामार्फत चिठी, पुलिन्दा सडक र हवाई दुवै मार्गबाट पठाइन्छ । त्यहीअनुसार महसुल निर्धारण भएको छ । ‘हवाई सेवाबाट पठाउँदा सहरी क्षेत्रमा एकैदिनमा पुग्छ, सडकमार्गबाट भने सहरी क्षेत्रमा हाम्रा आफ्नै ट्रक र अन्य क्षेत्रमा सार्वजनिक बसबाट पनि पठाउँछौँ,’ प्रवक्ता भट्टले भने । द्रुत डाँक महसुल ४० ग्रामसम्मको ७० रुपैयाँ कायम भएको छ । यसअघि ५० रुपैयाँ थियो । त्यसपछि हरेक २० ग्राममा थप १५ रुपैयाँ लाग्नेछ । 

तर, एकैदिनमा प्राप्त गर्ने गरी द्रुत डाँक सेवा प्रयोग गरेमा २० ग्रामसम्मको एकमुस्ट एक सय रुपैयाँ निर्धारण भएको छ । यसको शुल्क यसअघि ५० रुपैयाँ मात्र थियो । त्यसपछि हरेक २५ ग्राममा ४० रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ । सोही दिन पुर्याउने यो सेवा हाललाई काठमाडौं महानगरपालिकाभित्र मात्र कायम गरिएको छ । 

विदेशमा चिठीपत्र पठाउँदाको महसुल पनि बढ्यो 
हवाईमार्गबाट विदेशमा पठाइने चिठीपत्र र पुलिन्दाको शुल्क पनि बढेको छ । २० ग्रामसम्मको चिठीपत्र भारत, अफगानिस्तान, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान र माल्दिभ्स पठाउँदा ५० रुपैयाँसम्म कायम गरिएको छ । तर, बाँकी देशलाई द्वितीय क्षेत्र, तृतीय क्षेत्र र चतुर्थ क्षेत्रमा वर्गीकरण गरेर शुल्क ६० देखि एक सय रुपैयाँसम्म निर्धारण गरिएको छ ।

आधा केजीदेखि एक हजार एक ग्रामसम्मको चिठी पठाउँदा प्रथम क्षेत्र (सार्क मुलुकमा) आठ सय ६० निर्धारण गरिएको छ भने अन्य मुलुकमा कम्तीमा एक हजार ४५ देखि एक हजार सात सय ४५ निर्धारण गरिएको छ । सतहमार्गबाट सार्क मुलुकमा चिठीपत्र पठाउँदा भने न्यूनतम ४५ रुपैयाँ मात्र लाग्नेछ । यसअघि यस्तो शुल्क २० रुपैयाँ थियो ।

६ वर्षपछि महसुल हेरफेर, यस्तो छ नयाँ महसुल शुल्क

  • स्वदेशमै २० ग्राम तौलसम्मको चिठीपत्र पठाउँदा १० रुपैयाँ 
  • ५० ग्रामको प्याकेट पठाउँदा २० रुपैयाँ 
  • पत्रपत्रिका एक जिल्लाबाट अर्काे जिल्लामा पठाउँदा दुई सय रुपैयाँ
  • रजिस्टरी शुल्क ३० रुपैयाँ
  • सामान्य पार्सल न्यूनतम दुई सय रुपैयाँ 
  • पार्सल हवाई २३० रुपैयाँ  
  • द्रुत डाँक महसुल ७० रुपैयाँ 
  • विदेशमा पठाउँदाको महसुल पनि बढ्यो 

सुझावित समाचार