अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को संक्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले विभागले आज एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि सचेत हुन यसरी अनुरोध गरेको हो ।
ओमिक्रोन देखिएका मुलुक (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङ) बाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई मंसिर १६ देखि नेपाल प्रवेशमा रोक लगाइएको निर्णयलाई यथावत् राखिएको पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ । गएको तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरेका यात्रुका हकमा समेत उक्त निर्णय लागू हुने जनाइएको छ ।
विभागले तोकिएका ती नौ देश र अन्य कोरोनाको उच्च जोखिम भएका मुलुकबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा पनि विशेष व्यवस्था गरेको छ । पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड–१९सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी अनुमति दिने विभागले जनाएको छ ।
विभागका निर्देशक प्रकाशचन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा खोपको मात्रा पूरा नभएका वा खोपको मात्रा पूरा गरी १४ दिन नपुगेका नेपाली नागरिकको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएमा संस्थागत आइसोलसनमा पठाइने र रिपोर्ट नेगेटिभ देखिएमा भने घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइनेछ ।