परिवारले ‘माया मारेकी’ सुनमाया यसरी बनिन् अल्ट्रारेस च्याम्पियन

मंगलबार, २७ पुष, २०७८
डिजिटल संस्करण

बाल्यकालमा मृत्यु जितेकी सुनमाया अहिले संसार जित्ने लक्ष्य लिएर दौडिरहेकी छिन्

जुम्ला पातारासी गाउँपालिका–५ की सुनमाया बुढा अल्ट्रा रेसमा संसार जित्ने सपना बुन्दै छिन् । विपन्न परिवारमा हुर्केकी सुनमायाले हालै थाइल्यान्डमा सम्पन्न ११० किलोमिटर दूरीको दौड जितिन् । यही जितले उनलाई संसार जित्ने सपना देखाएको हो । 

उनको बाल्यकाल निकै दुःखमय थियो । उनी परिवारको एक छोरा र सात छोरीमध्ये पाँचौँ सन्तान हुन् । एक वर्षको फरकमै बहिनी जन्मिएपछि उनले आमाको दूध राम्रोसँग खान पाइनन् । दुब्लाउँदै जान थालिन् । उनी भन्छिन्, ‘गाउँका मान्छे यसलाई त कुपोषण लाग्यो भन्थे रे ।’ जुम्ला सदरमुकामबाट चार घन्टा पैदल दूरीको पातारासीमा अस्पताल थिएन । त्यतिवेला अहिले जस्तो सडक पनि थिएन । सडक नै नभएपछि सवारीसाधन हुने सम्भावना नै भएन । खेती किसानी गर्ने सामान्य परिवारले दुब्लाउँदै गएकी छोरीलाई उपचार गर्न सदरमुकाम लैजाने आँट पनि गर्न सकेन ।

अस्पताल लैजान नसके पनि उनकी आमाले ओछ्यान परेकी छोरीको घरेलु उपचारमा कुनै कसर बाँकी राखिनन् । आठ–नौ महिनाको घरेलु उपचारले काम गर्यो र उनी तंग्रिन थालिन् । आमाबुबाले समेत ‘माया मारेकी’ सुनमाया बाँच्छिन् भन्ने अरूले त कल्पनासमेत गरेका थिएनन् । बल्लतल्ल बाँचेकी सुनमाया अहिले परिवार र गाउँको मात्रै होइन, देशकै हिरा बनेर संसारमा चम्किरहेकी छन् ।

आमाबालाई आफूले देश–विदेशमा कुदेको देखाउन मन छ । कहिल्यै जहाज नचढेका उनीहरूलाई जहाज चढाएर खुसी दिने मन छ ।

दुई साताअघि थाइल्यान्डको चाङमाईमा भएको थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा रेसमा उनी महिलातर्फ पहिलो भइन् । उनले ११० किलोमिटर दौडतर्फ पुरुष खेलाडीहरूलाई समेत टक्कर दिइन् । अल्ट्रातर्फकै ठूलोमध्ये एक युटिएमबी दौडमा पुरुष र महिलातर्फ समग्र नतिजामा उनी तेस्रो भइन् । 

थाइल्यान्डको चाङमाई क्षेत्रको भिरपाखा र डाँडाको ५४ सय ८० मिटर उचाइमा नर्थफेस टिमबाट दौडिएकी सुनमाया समग्रमा दोस्रो भएका फ्रान्सका सेड्रिक गोलियाभन्दा चार सेकेन्डले मात्र पछि परिन् । सुनमायाले यो दौड १४ घन्टा ५४ मिनेट १ सेकेन्डमा पार गरेकी थिइन् । 

थाइल्यान्ड बाई युटिएमबी जितेपछि अन्तर्राष्ट्रिय चर्चा पाइरहेकी २३ वर्षीया सुनमायाले अल्ट्रा धाविका बन्छु भनेर कहिल्यै नसोचेको बताइन् । उनका लागि जुम्ला सदरमुकाम र सुर्खेत पुग्नु नै ठूलो थियो । काठमाडौं अनि देशविदेश त उनको सपनामा कहिल्यै आउँदैन थिए । बाल्यकालमा कुपोषणलाई जितेकी सुनमायाले दोस्रो लडाइँ कर्णालीको सामाजिक परिवेशसँग लड्नुपर्यो । उनका दिदीहरूले स्कुल जाने अवसर कहिल्यै पाएनन् । ‘मरेर बाँचेकी’ भएर होला आमाबुबाले सुनमायालाई भने स्कुल पठाए । त्यही स्कुल उनका लागि कर्णालीको सामाजिक परिवेशसँग लड्ने र भविष्यको सपना देख्ने पहिलो मैदान बन्यो ।

पहिलो खेलमै प्रथम
उनी सात कक्षामा पढ्दा पहिलोपटक दौडमा सहभागी भइन् । विद्यालयस्तरीय यो खेलमा प्रथम भइन् । त्यही वेला हो, उनलाई दौडेर पनि पुरस्कार पाइने रहेछ भन्ने थाहा भएको । ‘त्यसपछि प्रधानाध्यापकले सुनमाया अब तिमी बजारमा पनि कुद्न जानुपर्छ, त्यहाँ ३० भन्दा बढी विद्यालयका विद्यार्थी आउँछन् भने,’ प्रधानाध्यापकले गरेको आग्रह सुनमाया सम्झिन्छिन् । त्यतिवेला उनी यो प्रतियोगितामा जिल्ला प्रथम भइन् । यो जितपछि क्षेत्रीय छनोट खेल्न नेपालगन्ज जानुपर्ने भयो । उनी पहिलोपटक नेपालगन्ज पुग्दा आत्तिएको बताउँछिन् । नेपालगन्जमा पनि पहिलो हुँदै उनी एकैपटक राष्ट्रिय स्तरमा छनोट भइन् ।

प्रहिलो प्रयासमै जुनियर च्याम्पियन 
काठमाडौं आएकी सुनमायाले सबैलाई उछिन्दै १४ वर्ष उमेरसमूहमा राष्ट्रपति रनिङ सिल्ड जितिन् । जिल्ला, क्षेत्र हुँदै देशकै जुनियर च्याम्पियन बनेपछि उनको गाउँभरि चर्चा चुलियो । स्कुलले पुरस्कारस्वरूप पाँच हजार रुपैयाँ दिएपछि उनको खुसीको सीमा नै रहेन । राष्ट्रपति रनिङ सिल्ड जितेपछि सुनमायाले नियमित रूपमा यस्ता प्रतियोगितामा भाग लिन थालिन् । जितको यात्रामा ‘ब्रेक’ लागेन ।

जुनियरस्तरकै प्रतियोगितामा चर्चा बटुलेकी सुनमायाले १६ वर्षमा एसएलसी पास गरिन् । यहीबीच, उनले जुम्ला बजारमा ओलम्पियन हरिबहादुर रोकायाले प्रशिक्षण दिनेबारे थाहा पाइन् । रोकायालाई भेटिन् । प्रशिक्षण लिन चाहेको तर घरमा बिहेको प्रस्ताव आएकाले ढाँटेर आएको रोकायालाई सुनाइन् । 

तीन वर्ष जुनियर स्तरकै प्रतियोगितामा चर्चा बटुलेकी सुनमायाले १६ वर्षमा एसएलसी पास गरिन् । यहीबीच, उनले जुम्ला बजारमा ओलम्पियन हरिबहादुर रोकायाले प्रशिक्षण दिनेबारे थाहा पाइन् । रोकायालाई भेटिन् । प्रशिक्षण लिन चाहेको तर घरमा बिहेको प्रस्ताव आएकाले ढाँटेर आएको रोकायालाई सुनाइन् । रोकायालाई सुनमायाको कुराले मुटु छोयो । उनले आफ्नै घरमा कोठा दिए । कर्णाली स्पोर्टस् क्लबमा भर्ना पनि गरिदिए । छोरीले पढ्छु भनेपछि सुनमायाका बुबा पछि आफैँ आएर आवश्यक सामान किनिदिए । सदरमुकाम आएपछि उनी बिहान प्लस–टु पढ्न थालिन् । दिउँसो दौड अभ्यास गर्थिन् । प्रशिक्षकले कडा अभ्यास गराउँथे । पढ्न आएकी छोरी दौड अभ्यास गर्छिन् भन्ने घरमा थाहा थिएन । यहीबीचमा उनी धरानमा भएको १० किलोमिटर दौडमा भाग लिएर तेस्रो पनि भइन् ।

तयारी म्याराथनको, सहभागी ट्रेस रेसमा
हरिबहादुर रोकायाले सुनमायाको क्षमता पहिचान गरिसकेका थिए । उनले १० किलोमिटर हुँदै ४२ किलोमिटर म्याराथनका लागि तयारी गराउन थाले । राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरे पनि प्रतियोगिता हुन समय लाग्यो । त्यसपछि सुनमायाको जीवनको बाटो मोडियो । उनी सन् २०१६ को सुरुवातमा ‘ट्रेल रेस’मा सहभागी हुन काठमाडौं गइन् । गोदावरीमा भएको १२ किलोमिटरको ट्रेल जित्दै उनले सबैको ध्यान तानिन् ।

यतिवेलासम्म उनलाई ट्रेल रेसबारे थाहै थिएन । तर, गाउँमा मेलापात, घाँसदाउरा, उकाली–ओराली गरेकी उनलाई ‘अफ रोड’मा हुने रेसमा दौडन गाह्रो भएन । पहिलो सहभागितामै प्रथम भइन् । यसपछि उनलाई मनास्लु स्टेप रेस गर्ने मौका मिल्यो । सात दिनमा एक सय ७० किलोमिटर दौडिनुपर्ने उक्त रेसमा पनि उनी प्रथम भइन् । यसपछि उनलाई हङकङ जाने मौका मिल्यो । डिसेम्बर २०१६ मा हङकङको एमएसआइजी लङटाउमा सहभागी हुने पक्का भएपछि उनमा खुसीको सीमा नै रहेन ।

५० किलोमिटरको एमएसआइजी लङटाउमा १८ वर्षमुनिको प्रतिस्पर्धामा उनी एसियातर्फ च्याम्पियन भइन् । पहिलो प्रतिस्पर्धालाई नै उनले यादगार बनाइन् । त्यसपछिका वर्षमा उनले पछाडि फर्केर हेर्नु परेन । चीन, जर्मनी, स्विट्जरल्यान्डको अल्ट्रा रेसमा सहभागिता जनाउन थालिन् र उत्कृष्ट प्रदर्शन गरिन् । सन् २०१९ सम्म उनले एसिया र युरोपमा गरी दर्जनभन्दा बढी अल्ट्रा रेसमा प्रतिस्पर्धा गरिन् । 

खाना खान र भाषा अप्ठ्यारो
जुम्लाको तीन हजार मिटर उचाइमा घाँस–दाउरा र उकालो–ओरालो गर्दै हुर्केकी उनलाई अल्ट्रा र ट्रेल रेसको रुट अप्ठ्यारो लाग्दैन । तर, उनलाई नयाँ ठाउँमा खाना र भाषाको साह्रै समस्या पर्छ । कहिलेकाहीँ हावापानीले साथ दिँदैन । घन्टौँ दौडिँदा बीचबीचमा आउने चेक प्वाइन्टमा कति खाने र कस्तो खाने भन्ने नजान्दा समस्यामा पर्ने गर्थिन् । 

कोभिड–१९ ले सन् २०२० देखि एक वर्ष अल्ट्रा दौडलाई पनि असर गर्यो । उनी दौडिन पाइनन् । सन् २०२१ मार्चमा विश्वकै चर्चित ब्रान्ड ‘द नर्थ फेस एड्भेन्चर टिम’ले सुनमायालाई आबद्ध गर्यो । यसले उनको अल्ट्रा दौड करिअरलाई थप उचाइमा पुग्न सजिलो भयो । उनले अब हरेक रेसअघि छुट्टै प्रशिक्षक पाउँछिन् । हरेक साता अभ्यासको रिपोर्ट बुझाउनुपर्छ । त्यसको विश्लेषण गर्दै नर्थ फेसले उनका लागि रणनीति बनाउने गर्छ ।

‘थाइल्यान्ड बाई युटिएमबी’ प्रतियोगिताअघि उनलाई अस्ट्रेलियाका प्रशिक्षकले अभ्यास दिएका थिए । छुट्टै रणनीति बनाएर कुद्न पठाएपछि सफल पनि भइन् । ‘राम्रो प्रशिक्षण पाएकाले सफल भए जस्तो लाग्छ । मेरो टिमले गर्दा यहाँ आइपुगेँ,’ उनले भनिन् ।

अबको लक्ष्य फ्रान्स युटिएबी
उनी अब फ्रान्समा हुने युटिएबी अल्ट्रा रेसमा भाग लिने तयारीमा छिन् । त्यो रेस जितेर देशको नाम उँचो बनाउन चाहेको उनी बताउँछिन् । ‘परिवारले भनेको मानेर बिहे गरेको भए यहाँ आइपुग्दिनथेँ । देश–विदेश घुमेर नाम कमाउने अवसर पाउँदिनथेँ,’ उनी भन्छिन्,’ मेरा साथीहरूका तीन–चारवटा बच्चा भइसके । मेरो भने त्यसतर्फ ध्यान नै गएन ।’ दौडमा जित्नुबाहेक अब उनलाई आफूले गरेको संघर्ष अरूले भोग्न नपरोस् भनेर सबैलाई सचेतना फैलाउन मन छ । ‘गाउँमा गएर बच्चैमा बिहे गर्नुहुन्न, अवसर पाए छोरीले पनि राम्रो गर्न सक्छे भनेर सिकाउन मन छ,’ उनले भनिन् । 

उनी अब आमाबुबालाई आफैँ पाल्न सक्छु भन्ने लागेको बताउँछिन् । उनले भनिन्, ‘मेरी आमाले छोरीले पढेर जागिर खाए हामीलाई पाल्छ भन्नुहुन्थ्यो । एउटा मात्रै छोरा जन्मियो भनेर आमा पीर गर्नुहुन्थ्यो । अर्को छोरा जन्माउने भन्दाभन्दै छोरी मात्रै जन्मिए ।’

उनले बजारमा घर बनाएर आमाबालाई राम्रोसँग राख्ने योजना पनि बनाएकी छन् । आमाबालाई आफूले देश–विदेशमा कुदेको उनलाई देखाउन मन छ । कहिल्यै जहाज नचढेका आमाबालाई जहाज चढाएर खुसी दिने मन छ । त्यसका लागि अल्ट्रा रेस करिअरमा संघर्ष गरिरहेकी सुनमाया फ्रान्समा एक सय एक किलोमिटरमा हुने रेसमा संसार जित्न चाहन्छिन् । बाल्यकालमा मृत्यु जितेकी सुनमाया अहिले संसार जित्ने लक्ष्य लिएर हिँडिरहेकी छन् । 

सुनमायालाई सम्मान
सुनमाया बुढालाई कर्णाली प्रदेश सरकार र कर्णाली खेलकुद परिषद्ले सम्मान गरेको छ । सोमबार सुर्खेतमा खेलकुद परिषद्का पदाधिकारीले विमानस्थलमै पुगेर स्वागतसहित सम्मान गरेका हुन् । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई प्रदेश सरकारले प्रोत्साहनबापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए । प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिसकेको छ । 

See More On

सुझावित समाचार