घरमा कोही नभएको मौका छोपी सुन र नगद चोरी गर्ने चार पक्राउ

विद्यार्थीको भेषमा भाडामा बसेर चोरीको योजना

मंगलबार, २७ पुष, २०७८
डिजिटल संस्करण

गत १२ पुसमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवनप्रसाद श्रेष्ठको घरबाट १३ तोला सुनका गरगहना र नगद एक लाख रुपैयाँ चोरी भयो । चौतारा साँगाचोकगढी नगरपालिका–५ पुरानो बजारमा उनको घर छ । घरका सबै सदस्य काममा जाने भएकाले दिउँसो उनको घरमा ताला लागेको हुन्छ ।

दिनभर घरमा कोही नभएपछि १२ पुस दिउँसो घर चोरी भयो । बेलुका घरका मानिस सबै जम्मा भए । घरको बाहिरी ढोकामा ताला सही सलामत थियो । चोरी भएको कुनै संकेत थिएन । तर, जब दराजमा परिवारका सदस्यको ध्यान गयो, तब मात्र घरमा चोरी भएको पुष्टि भयो । 

कोठामा छिर्ने ढोका र दराज फुटाएर चोरी भएको थाहा पाएपछि श्रेष्ठकी पत्नी गुणकेशरी श्रेष्ठले तत्कालै प्रहरीलाई सूचना गरिन् । तर, प्रहरीलाई चोर पत्ता लगाउन निकै कठिन भयो । श्रेष्ठ दम्पतीले आफ्नै घरमा भाडामा बस्नेमाथि अनुसन्धान गरे । सुनकोसी गाउँपालिका–६ पाखर घर भएकी २० वर्षीया कञ्चन पराजुली दुई महिनादेखि भाडामा बस्थिन् । उनी आफू विद्यार्थी भएको बताउँथिन् । गुणकेशरीले पराजुलीमाथि शंका गरेर प्रहरीलाई सूचना दिइन् । घरमा दिउँसो प्रायः ताला लाग्ने भएकाले पराजुलीलाई एकपटक साँचो र ताला दिइएको थियो । त्यही समयमा उनले घरको अवस्थाबारे सबै जानकारी लिएको र साँचो हरायो भनेर बहाना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले १८ पुसमा पराजुलीलाई पक्राउ गरेर अनुसन्धान बढायो । केही दिनमा उनले चोरीमा संलग्न व्यक्ति र योजनाबारे खोलिन् । त्यसैका आधारमा डाँकाचोरीमा संलग्न अन्य तीनजनालाई प्रहरीले २३ पुसमा पक्राउ गरेको थियो ।

भक्तपुर चाँगुनारायण ताथली बस्ने इन्द्रावती गाउँपालिका–९ सिपाटारका २६ वर्षीय बिक्की भनिने अनिल तामाङ, भक्तपुर सूर्यविनायक–४ बस्ने इन्द्रावती गाउँपालिका–९ सिपाटार निवासी २५ वर्षीय बुद्ध तामाङ र भक्तपुर कमलविनायक बस्ने इन्द्रावती गाउँपालिका–१० बडहरेका २४ वर्षीय मनीष सुन्दासलाई थानकोटबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी निरीक्षक हरिबोल केसीको कमान्डमा गएको प्रहरी टोलीले दसीसहित डाँकाचोरीमा संलग्नलाई पक्राउ गरेको हो । 

उनीहरूको साथबाट प्रहरीले सुन, चाँदी, नगद र चोरीमा प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार आधा तोला सुनको १० गेडी मंगलसूत्र, आधा तोलाको लकेट, एक तोलाको बेरुवा रिङ, चाँदीको कल्ली एक जोर, चाँदीको लकेट, सुनजस्तो देखिने सिक्री र लकेट एक थान, कानमा लगाउने कुन्डल एक जोर, पाँचवटा सिक्री, शिरबन्दी, नेक्लेस, सिक्का राख्ने कन्तुर, मोबाइल फोन पाँच सेट र प्रदेश–३–०२–०१३ प १०६४ नं. को एक्स प्लस बाइक बरामद गरेको छ । 

१३ तोला सुनमध्ये ६ तोला भेटिए पनि केही सुनको स्वरूप परिवर्तन गरिएको उनले बताए । ‘हामीले घटनालाई गहिरो गरी अध्ययन गरेर अनुसन्धान जारी नै राखेका छौँ,’ एसपी अधिकारीले भने, ‘विद्यार्थीको भेषमा केटीलाई प्रयोग गरेर डाँकाचोरी भएको जस्तो देखिन्छ ।’ चोरीमा संलग्न पराजुली र मनीष सुन्दास प्लस टुका विद्यार्थी भएको उनले बताए । 

पाँच तोला सुनसहित दुई पक्राउ
दाङ/ पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका– १ निवासी अन्दाजी १८ वर्षीय वसन्त खत्री र सोही ठाउँ निवासी अन्दाजी २३ वर्षीय खेमराज चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार राप्ती गाउँपालिका– १ निवासी गंगादेवी क्षेत्रीको घरबाट शनिबार राति पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुईजनालाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट प्रहरीले सुनको बाला पाँच थान, मंगलसूत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको ६ सय, चाँदीको सिक्का एक थानसमेत गरी अन्दाजी चार लाख ५२ हजार बराबरको सुन र ३९ हजार पाँच सय नगद तथा एक थान मोबाइल सेट बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार