सडक निर्माणको नाममा अनुमतिविना चुरेमा क्रसर

आइतबार, २५ पुष, २०७८
डिजिटल संस्करण
सडक निर्माणको नाममा अनुमतिविना चुरेमा क्रसर

दमक–चिसापानी सडक निर्माणको जिम्मा पाएको लुम्बिनी गणपति जेभीले विनाअनुमति मझुवा खोलामा राखेको क्रसर । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका

स्थानीय तहबाट स्वीकृति लिनुपर्नेमा धार्मिक र सामुदायिक वनको सहमतिमा चुरे नदीको धमाधम उत्खनन

झापाको दमकदेखि इलामको लारुम्बा हुँदै चिसापानी पुग्ने सडक दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) निर्माणका लागि वातावरणीय परीक्षणविना र विनाअनुमति निर्माण कम्पनीले चुरेमा क्रसर राखेको छ । सडकखण्डअन्तर्गत मध्य चुरे क्षेत्र इलामको माङ्सेबुङ–५ को मझुवा खोलामा ठेकेदार कम्पनीले गाउँपालिकाको अनुमतिविना र वातवरणीय परीक्षणविना क्रसर राखेको हो ।

ठेकेदार कम्पनीले चुरेमा क्रसर मात्र राखेको छैन, एक महिनायता रतुवा नदीको निरन्तर दोहन गरिरहेको छ । सडक निर्माणको ठेक्का लुम्बिनी गणपति जेभीले लिएको छ । चुरे क्षेत्र कान्छो र संवेदनशील पहाडको रूपमा चिनिन्छ । सरकारले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास गठन गरेर चुरे संरक्षणको कार्यक्रम गर्दै आएको छ । तर, लुम्बिनी गणपतिले भने उत्खनन र क्रसरका लागि वातावरणीय परीक्षण पनि नगरी सडक निर्माणका लागि चाहिने नदीजन्य पदार्थ निकाल्न धमाधम चुरे उत्खनन गरिरहेको छ । माङ्सेबुङ–३, ४ र ५ को संगमस्थलमा रहेको मझुवामा एक महिनाअघि राखिएको क्रसरका लागि यही क्षेत्र भएर बग्ने रतुवा नदी एक महिनायता निरन्तर दोहन भइरहेको छ ।

 डिल्लीराम सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, माङ्सेबुङ गाउँपालिका

अहिलेसम्म उहाँहरूले लिखित अनुमति लिनुभएको छैन । संवेदनशील चुरेमा आइईविना र चुरेको सहमतिविना उत्खनन गर्न पाइँदैन । कानुनी आधार के छ भनेर जानकारी गराएका छौँ । उहाँहरूले केही गर्नुभएको छैन । यसरी स्वीकृतिविना क्रसर चलाउन र उत्खनन गर्न पाइँदैन । 

सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेलका अनुसार सडक निर्माणका लागि चाहिने नदीजन्य पदार्थ निर्माण कम्पनीले नै व्यवस्था गर्नुपर्छ । यसका लागि नजिकैको नदी उत्खनन गर्न सडक डिभिजनले सिफारिस दिने उनले बताए । तर, स्थानीय तहको अनुमति लिएर मात्र निर्माण कम्पनीले नदी उत्खनन गर्न पाउने पौडेलको भनाइ छ । ‘सडक निर्माणका लागि नदीजन्य पदार्थ उत्खननका लागि सिफारिस दिन्छौँ । निर्माण कम्पनीले स्थानीय तहले तोकेको कर तिरेर स्वीकृति लिएर मात्र क्रसर चलाउन पाउँछ,’ उनले भने, ‘त्यो क्रसरबाट निकालिएको नदीजन्य पदार्थ बाहिर लैजान पाइँदैन । लुम्बिनी गणपतिलाई पनि हामीले सिफारिस दिएका छौँ । स्थानीय तहबाट अनुमति लिएको÷नलिएको जानकारी छैन ।’

ठेकेदार कम्पनीले हालसम्म वातावरणीय परीक्षण र स्थानीय तहबाट स्वीकृति नलिएको माङ्सेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले बताए । 

चुरे संरक्षणका लागि राज्यको ठूलो खर्च, तर झापामा धमाधम चुरे दोहन 

निर्माण कम्पनीले चुरेको दोहन गरिरहेको स्थानीय सडक उपभोक्ताको ठहर छ । दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) निर्माण उपभोक्ता समितिका वरिष्ठ उपाध्यक्ष तथा माङ्सेबुङ–३ का स्थानीय सुशील राईले निर्माण कम्पनीले चुरे दोहन गर्न नपाउने बताए । ‘स्थानीय तहबाट अनुमति लिए पनि चुरे दोहन गर्न पाइँदैन । यो मध्य चुरे क्षेत्र हो । क्रसर राख्नलाई उपयुक्त ठाउँ त्यहाँ भए अनुमति लिएर राख्न पाउँछ । तर, चुरे नदी रतुवाको नदीजन्य पदार्थ उत्खनन् गर्न पाउँदैन,’ उनले भने, ‘चुरे संरक्षणका लागि राज्यले बर्सेनि ठूलो खर्च गर्छ । तर, यहाँचाहिँ धमाधम चुरे दोहन हुन्छ । यो रोक्नुपर्छ ।’

चुरे उत्खननबारे स्थानीय जनप्रतिनिधिलाई जानकारी छ । तर, जनप्रतिनिधि भने चुरे दोहनलाई आँखा चिम्लिएर सहयोग गरिरहेका छन् । उत्खनन र क्रसर राखेको क्षेत्र फाल्गुनन्द धार्मिक वन र अन्नपूर्ण सामुदायिक वनको भएको भन्दै नियामक निकायमा रहेका जनप्रतिनिधि भने पन्छिने गरेका छन् । वन क्षेत्र भए पनि नदीजन्य पदार्थ स्थानीय तहको जिम्मेवारीमा हुन्छ । स्थानीय तहले वातावरणीय परीक्षण गरेर उत्खननका लागि उपयुक्त भए मात्र क्रसर राख्न र उत्खननको अनुमति दिन सक्छ । ‘यो धार्मिक वन क्षेत्र हो । वनसँग समन्वय गरेर क्रसर राखेको हो । पालिकासँग स्वीकृत लिएको छैन,’ गाउँपालिका अध्यक्ष डिगेन्द्र इधिंगोले भने, ‘स्थानीय तहअन्तर्गत सबै वन पर्छ । वनसँग समन्वय गरेर हामीसँग गरेको हो । पालिकामा पनि स्वीकृति लिने प्रक्रियामा छ ।’

निर्माण कम्पनीले भने धार्मिक वनसँग मात्र समन्वय गरेको जनाएको छ । लुम्बिनी गणपति जेभीका सञ्चालक तुल्सरीराम भण्डारीले स्थानीय तहबाट स्वीकृति लिनु नपर्ने बताए । ‘स्वीकृति लिनुपर्ने स्थानीय तहबाट हैोइ । आयोजनाले नै मनिटरिङ गर्ने हो । आयोजना सकिएपछि खोल्ने हो,’ उनले भने, ‘स्थानीय र धार्मिक वनसँग समन्वय गरेर यहाँ राखौँ भनेपछि हामी अघि बढेका हौँ । गुरुसँग बसेर केही सहयोग धार्मिक वनलाई पनि गरौँ, मिलेर गरौँ भनेर गरेका हौँ ।’

See More On

सुझावित समाचार