सहरको समस्या बनिरहेको पार्किङ व्यवस्थापनको झन्झट हटाउने गरी नेपालमा आधुनिक पार्किङ सिस्टम भित्र्याइने भएको छ । विश्वका विभिन्न देशमा पार्किङलगायत विभिन्न व्यवसाय गरिरहेका ‘आइडिया ग्रुप’को नेपाल शाखा ‘आइडिया फर नेपाल’ले यस्तो सिस्टम भित्र्याउने भएको हो ।
हङकङमा मुख्य कार्यालय रहेको ‘आइडिया ग्रुप’ गैरआवासीय नेपाली तथा विदेशी साझेदारहरू संलग्न एक बहुराष्ट्रिय कम्पनी हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच पूर्वराष्ट्रपति डा. रामवरण यादवले यो परियोजनाको उद्घाटन गरेका छन् ।
परियोजना उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा. यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्ने धारणा व्यक्त गरेका छन् । नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनको क्षेत्र लगानीका लागि उर्वर रहेको धारणा व्यक्त गर्दै उनले विश्वका विभिन्न देशमा रहेका नेपालीहरूले यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।
विदेशमा आर्जन गरेको ज्ञानका आधारमा भारतीयहरूले बेंग्लाेरमा ठूलो परिवर्तन ल्याएको बताउँदै गैरआवसीय नेपालीहरूले पनि त्यसतर्फ ध्यान दिनुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ छ । कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले अत्याधुनिक कार पार्किङ सिस्टम भित्र्याएपछि दुईवटा कार पार्किङ गर्ने स्थानमा दर्जनौँ कार पार्किङ गर्न सकिने बताए । उनले विभिन्न देशमा काम गरेको अनुभवको आधारमा नेपालमा पनि काम गर्न लागेको बताए । उनले यस परियोजनामार्फत आगामी १० वर्षभित्र दश लाखजनालाई उद्यमी बनाउने साेच रहेको पनि बताए । उनका अनुसार यो संस्था हाल विश्वका विभिन्न देशमा चार सयभन्दा बढी परियोजनाहरूमा संलग्न छ । जसमध्ये ५० वटालाई आफैँले नेतृत्व गरिरहेको छ । संस्थाले अफ्रिकाको सुनखानी, युरोपमा पार्किङ, रियल स्टेट, कृषि तथा अन्य विविध क्षेत्रमा लगानी गरिरहेको छ । करिब पाँच वर्षअघिदेखि नेपालमा पनि यसले कृषि, घरजग्गा, पर्यटनलगायतको क्षेत्रमा लगानी गरिरहेको छ ।
संस्थाले कीर्तिपुर, बुटवल, नेपालगन्ज, पोखरालगायतको क्षेत्रमा ‘मेगा सिटी’ निर्माणका अवधारणासहित आवास निर्माण गर्दै छ । त्यस्तै सिन्धुपाल्चोकमा फलफूल तथा जुम्लामा स्याउ फर्म सञ्चालनका लागि प्रक्रिया सुरु गरेको छ । कार्यक्रममा संस्थाकी निर्देशक रोजिना प्रधान राईले नेपालीहरूलाई विश्वभर कामदारको रूपमा मात्र हेरिने वर्तमान परिस्थितिलाई उल्टाउँदै नेपालीहरू पनि ‘इन्टरप्रेनर’ हुन् भन्ने स्थापित गराउन आफूहरू लागिपरेको बताइन् ।