एनआइसी एसिया बैंकले डिजिटल बैंकिङको प्रवद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ एप, वेबसाइट, आइसर्भ तथा इन्टरनेट बैंकिङ चलाउन एनसेलबाट निःशुल्क डेटा उपलब्ध गराउने भएको छ । बैंकले ग्राहकलाई डिजिटल बैंकिङका लागि सहज बनाउने उद्देश्यसहित मोबाइल र वेबसाइटबाट चल्ने आफ्ना बैंकिङ सुविधा उपयोग गर्नका लागि निःशुल्क डेटा उपलब्ध गराउने भएको हो ।
अब एनआइसी एसियाका ग्राहकले मोबाइल एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्युआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्र्याकिङजस्ता सुविधाका लागि डेटा खरिद गर्न रकम तिर्नुनपर्ने बैंकले जनाएको छ ।
त्यस्तै, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक सेयरमा आवेदन दिन, कार्डविनै एटिएमबाट नगद रकम झिक्न पनि मोबाइल एपमार्फत निःशुल्क डेटा प्रयोग गर्न सकिने बैंकको भनाइ छ । त्यस्तै, बैंकको आइसर्भ वेबसाइटमार्फत नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन–पासवर्ड रिसेटजस्ता मोबाइल बैंकिङ सेवाहरू, ब्यालेन्सको जानकारी, चेकबुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन, चेक भुक्तानी रोक्का, टेलर सेवाहरू र कार्डसम्बन्धी सेवाहरू पनि यसै सुविधाअन्तर्गत प्रयोग गर्न सकिने जनाइएको छ ।
बैंकको वेबसाइटबाट ग्राहकले अनलाइन खाता आवेदन, अनलाइन आइपिओ आवेदन, लोन बेनिफिट क्याल्कुलेटर, इएमआई क्याल्कुलेटरलगायत बैंकका अन्य सेवा–सुविधाको जानकारीका साथै बैंकका पछिल्ला योजनाहरू, सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे जानकारी लिन पनि सहज हुने बैंकको दाबी छ । इन्टरनेट बैंकिङमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानीलगायतका सुविधा उपभोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले हाल देशकै ठूलो शाखा सञ्जालका रूपमा देशभरमा तीन सय ५८ शाखा, चार सय ७३ एटिएम, ७० विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।